काठमाण्डौ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले कोरोनाभाइरस संक्रमित बिरामीको उपचारका लागि रेमडेसिविर औषधिको क्लिनिकल ट्रायल सुरु गर्न अनुमति दिएको छ। योसँगै अब बेलायतमा यो औषधिको क्लिनिकल ट्रायलको काम सुरु हुने लगभग पक्का भएको छ।

बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानकोकले कोरोना महामारी सुरु भएपछि बिरामीको उपचारका लागि उठाइएको यो अहिलेसम्मकै ठूलो कदम भएको बताए। ‘यो औषधिको कोरोना संक्रमितको उपचारमा प्रभावकारी हुने पर्याप्त प्रमाण छन्, त्यसैले केही अस्पतालमा यसको प्रयोगको अनुमति दिन सकिन्छ’, उनले भने।

अहिले यो औषधिको आपूर्ति निकै कम रहेका कारण जो बिरामीलाई बढी आवश्यक हुन्छ उसलाई प्राथमिकतामा राखिने मन्त्री ह्यानकोकले बताए। अमेरिका र जापानमा यो औषधिको प्रयोग बिरामीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर गरिने गरिएको छ। 

रेमडेसिविर मूल रुपमा अमेरिकी कम्पनी गिलिड साइन्सेजले विकास गरेको हो। यो औषधि इबोलाको उपचारका लागि बनाइएको थियो। 

हालै अमेरिकामा गरिएको एक अध्ययनले रेमडेसिविर औषधिले गम्भीर रुपमा बिरामी परेका कोरोना संक्रमितलाई कम समयमै ठिक पारेको देखाएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का डा ब्रुस आइलवर्डले केही समयअघि चीन भ्रमणका क्रममा रेमडेसिविर एउटामात्र त्यस्तो औषधि हो जसले कोरोना संक्रमण कम गर्न प्रभावकारी हुने बताएका थिए। यो औषधिले मानव शरीरमा रहेका त्यस्ता इन्जाइमलाई आक्रमण गर्छ जसले कुनै पनि भाइरस शरीरमा प्रवेश गरेपछि आफैँ बढ्न मद्दत गर्छ। 

हाल विश्वका थुप्रै मुलुकमा रेमडेसिविर औषधिमाथि क्लिनिकल ट्रायल भइरहेको छ। यी ट्रायलहरुबाट प्राप्त सुरुआती नतिजाअनुसार यो औषधिको सेवनबाट अन्य अवस्थाभन्दा संक्रमित बिरामीहरु ४–५ दिन अघि नै ठिक हुने गरेको देखिएको छ।   

यद्यपि यो औषधिले कोरोना संक्रमित बिरामीको ज्यान बचाउन सक्छ कि सक्दैन भन्ने कुरा भने स्पष्ट रुपमा प्रमाणित भइसकेको छैन। – एजेन्सी