काठमाण्डौ । कोरोना बीमा योजना लागू भएयता पहिलोपटक एक संक्रमितलाई दाबी भुक्तानी गरिएको छ।

विश्व महामारी कोरोनाभाइरस (कोभिड १९) का बेला सरकारले आगामी आथिृक वर्ष २०७७÷७८ को बजेटमा नै समेटिएको यो योजनाअन्तर्गत पहिलोपटक शुक्रबार एक संक्रमितलाई दाबी भुक्तानी गरिएको हो। कोरोना बीमा गराएका कृषि विकास बैंकका एक कर्मचारीलाई संक्रमण पुष्टि भएपछि बीमाबापतको एक लाख रुपैयाँ दाबी भुक्तानी गरिएको हो। 

नेको इन्स्योरेन्स लिमिटेडले उक्त बीमा दाबी भुक्तानीबापतको रकम शुक्रबार नै कृषि विकास बैंकको खातामा जम्मा गरिदिएको छ। 

कोरोना बीमा गरेकाहरुले १५ दिनपछि पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएमा बीमा दाबी भुक्तानी गर्न पाउँछन्। सोहीअनुसार कृषि विकास बैंकका ती कर्मचारीलाई बीमा दाबी भुक्तानी गरिएको नेको इन्स्योरेन्सले जनाएको छ। 

बिमा समितिले १ हजार रुपैयाँमा १ लाख रुपैयाँको र ५०० रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बीमा गर्न सकिने व्यवस्था बनाएको थियो। परिवारकै बिमामा भने १ लाख रुपैयाँका लागि ६०० रुपैयाँ र ५० हजार रुपैयाँका लागि ३०० रुपैयाँ रकम तिर्नुपर्छ। यो बिमा योजनाको अवधि भने १ वर्ष हुने व्यवस्था छ।