काठमाण्डौ । महामारी कोरोनाभाइरसबाट करोडौँ मानिस चरम गरिबीमा धकलिइरहेकै बेला विश्वका अर्बपतिहरुको सम्पत्ति भने बढ्याबढ्यै छ । अझ यो बेला विश्वका अर्बपतिहरुको सम्पत्ति बढेर नयाँ कीर्तिमान नै कायम भएको छ।

स्विस बैंक यूबीएस र लेखांकन कम्पनी पीडब्ल्यूसीले बुधबार सार्वजनिक गरेको ‘राइडिङ द स्टोर्म’ शीर्षकको प्रतिवेदनले कोरोनाकालमा विश्वका अर्बपतिहरूको सम्पत्ति एक चौथाइभन्दा धेरैले बढेको छ। गत अप्रिलदेखि जुलाईसम्मको अवधिमा विश्वका अर्बपतिहरूको कुल सम्पत्ति १०० खर्ब २ अर्ब डलर पुगेको प्रतिवेदनमा उल्लेख छ। अर्बपतिहरूको कुल सम्पत्ति सय खर्ब डलरमाथि पुगेको यो नयाँ कीर्तिमान हो। 

यसअघि सन् २०१७ को अन्त्यमा अर्बपतिहरुको कुल सम्पत्तिले कीर्तिमानी उचाइ कायम गरेको थियो। त्यतिखेर अर्बपतिहरूको कुल सम्पत्ति ८९ खर्ब डलर पुगेको थियो।

गत अप्रिलको सुरुआतसम्म विश्वका अर्बपतिहरुको कुल सम्पत्ति ८० खर्ब डलर थियो। जुलाईसम्मको तीन महिनाको अवधिमा कुल सम्पत्तिमा २७.५ प्रतिशतभन्दा बढीले बढोत्तरी भएको प्रतिवेदनमा उल्लेख छ। 

पछिल्लो समय विश्वमा अर्बपतिको संख्या पनि २ हजार १८९ पुगेको छ। सन् २०१७ सम्म भने यो संख्या २ हजार १५८ रहेको थियो। 

विशेषगरी यो वर्ष प्रविधि र स्वास्थ्य क्षेत्रका अर्बपतिहरूको सम्पत्तिमा उछाल आएको प्रतिवेदनमा जनाइएको छ। – एजेन्सी