काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

गत बिहीबार बसेकोे बैंक संचालक समितिको ३६४औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारण सभाबाट स्वीकृति पश्चात आर्थिक वर्ष २०७६/०७७ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जानकारी दिएको छ । 

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७६÷७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्ने छ ।  

हाल बैंकको २४० अर्ब रुपैयाँ भन्दा बढी निक्षेप र २०६ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी रहेको छ । बैंकका ७१ जिल्लामा २६१ वटा शाखा, ४५ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २३७ एटीएम, तथा २२९ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन् ।