काठमाण्डौ । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन(यूएस एफडीए)ले मंगलबार भनेको छ कि उसले पहिलो सेल्फ कोभिड टेस्ट किटलाई प्रयोगमा ल्याउने मञ्जुरी दिएको छ । 

यो किटको प्रयोगबाट घरमै कोरोनाको टेस्ट गर्न सकिनेछ । यो किटको मद्धतले मात्र ३० मिनेटभित्र कोरोनाको रिजल्ट प्राप्त हुनेछ । 

यूएस एफडीएले जारी गरेको एक विज्ञप्तिलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार यो सिंगल यूज टेस्ट किटको निर्माण ल्यूकिरी हेल्थले गरेको हो । यसको प्रयोग आपतकालीन अवस्थामा पनि गर्न सकिनेछ।

यो किटमा आफैंले नाकबाट स्वाबको नमूना लिएर परीक्षण गर्न सकिनेछ । १४ वर्ष वा त्यसभन्दा माथिका व्यक्तिले यो किटको प्रयोगबाट आफैंले कोरोना टेस्ट गर्न सक्नेछन् । 

यूएस एफडीएका कमिस्नर स्टीफन हानले भनेका छन् कि हालसम्म घर गएर कोभिड १९ को टेस्टका लागि नमूना संकलन गर्ने अनुमति थियो, जसको रिजल्ट केही घण्टा पछि मात्र आउथ्यो । तर, यो पहिलो यस्तो किट हो, जसको प्रयोग आफैंले गर्न सकिन्छ र यसले घरमै आधा घण्टाभित्र रिजल्ट दिनेछ । 

यो किटको प्रयोग अस्पतालहरुमा पनि गर्न सकिनेछ । तर, १४ वर्षभन्दा मुनिकाको स्वाबको नमूना भने कुनै न कुनै स्वास्थ्यकर्मीहरुले नै लिनुपर्नेछ । 

यसैबीच, अमेरिकाले आफ्ना सबै नागरिकहरुलाई खोप दिने तयारीलाई अहिले तीव्र बनाएको समाचारमा उल्लेख छ । आगामी महिनादेखि यो अभियान सुरु हुनेछ र डिसेम्बरको अन्तसम्ममा अमेरिकाका करिब २ करोड मानिसले खोप पाइसक्नेछन् । अप्रीलसम्म त्यहाँ खोपको ७० करोड डोज तयार भइसक्नेछ । यसरी हिसाब गर्दा अमेरिकाका सबै नागरिकलाई खोप लगाउने काम अप्रीलदेखि जुलाईको बीचमा सम्पन्न भइसक्नेछ । मोडर्ना र फाइजर कम्पनीले जुन खोप तयार गरेका छन्, ती खोपको २ डोज सर्वसाधारणले लगाउनुपर्नेछ ।