काठमाण्डौ। टिकटकको चिनियाँ भर्जनसँग प्रतिस्पर्धा गर्ने सर्टफर्म भिडियो एपले कोरोना महामारी सुरु भएयताकै विश्वको सबैभन्दा ठूलो आईपीओ निष्कासन गर्ने भएको छ। 

बेइजिङमा आधारित कुवाइसोउ नामक टेक कम्पनीले हङकङ सेयर बजारमा ६.२ बिलियन डलरबराबरको आईपीओ जारी गर्ने तयारी गरेको हो। चिनियाँ भाषामा ‘छरिता हातहरु’ भन्ने अर्थ भएको कुवाइसोउले प्रतिकित्ता १३.५५ देखि १४.८४ अमेरिकी डलर भएको ३६५ मिलियन कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। यसरी कम्पनीले आईपीओ निष्कासनबाट ४२ बिलियन हङकङ डलर अर्थात ५.४ बिलियन अमेरिकी डलर पुँजी जुटाउने छ। ओभर अलटमेन्ट अप्सनका आधारमा बढी सेयर निष्कासन गर्दा कम्पनीले ६.२ बिलियन अमेरिकी डलर जुटाउनेछ। 

डेटा प्रदायक रिफिनिटिभका अनुसार यसले कम्पनीलाई सन् २०१९ डिसेम्बरमा झन्डै ३० बिलियन डलर बराबरको विश्वको सबैभन्दा ठूलो आईपीओ जारी गरेको साउदी अरामकोकै बाटोमा अग्रसर गराउनेछ।

रफिनिटिभ डेटाका अनुसार टेक कम्पनीतर्फ यो आईपीओ सन् २०१९ मेमा उबेरले निष्कासन गरेपछिकै सबैभन्दा ठूलो आईपीओ हुनेछ। उबेरले ८ बिलियन डलरभन्दा बढीको आईपीओ निष्कासन गरेको थियो। 

कुवाइसोउ एउटा यस्तो एप हो, जहाँ प्रयोगकर्ताले सर्टफर्म भिडियोहरु र लाइभ स्ट्रिम गर्न सक्छन्। यो एपले आफ्नो अधिकांश आम्दानी लाइभ स्ट्रिमिङ व्यवसायबाट आर्जन गर्ने गर्दछ। जहाँ प्रयोगकर्ताले भर्चुअल वस्तुहरु खरिद गरेर आफूलाई मनपरेका होस्टहरुलाई गिफ्टका रुपमा प्रदान गर्न सक्छन्। 

हङकङ स्टक एक्सचेन्जमा पेस गरिएको कम्पनीको प्रोस्पेक्टसमा सन् २०१९ मा कम्पनीले ८४ प्रतिशत आम्दानी लाइभ स्ट्रिमिङमार्फत आर्जन गरेको बताइएको छ। यसका साथै कम्पनीले अनलाइन विज्ञापनका माध्यमबाट पनि आम्दानी गर्ने गर्दछ। 

कम्पनीले यसै साताको अन्त्यमा सेयरको मूल्यकायम गर्ने र आउँदो फेबु्रअरी ५ देखि लिस्टिङ गर्ने अनुमान लगाइएको छ। 

सामाजिक सञ्जाल तथा गेमिङ कम्पनी टेन्सेन्टबाट समर्थित यो कम्पनी १० वर्षअघि स्थापना भएको हो। यो कम्पनी चीनमा भएका ठूला सर्टफर्म भिडियो एपमध्ये एउटा हो। कम्पनीको प्रोस्पेक्टसका अनुसार बितेका ११ महिनामा कम्पनीको दैनिक औसत प्रयोगकर्ता २६४ मिलियन रहेका छन्। यो संख्या उद्योगको अग्रेणी कम्पनी बाइटडान्सभन्दा कम हो। 

गत अगस्ट महिनासम्म बाइटडान्सको डउयिन एप (टिकटकको चिनियाँ भर्जन) को दैनिक औसत प्रयोगकर्ता ६०० मिलियन रहेका थिए।

कुवाइसोउको लिस्टिङ यस्तो समयमा हुन लागेको छ, जुन बेला चिनियाँ टेक कम्पनीहरुले नियामकीय झन्झटको सामना गर्नुपरिरहेको छ। प्रख्यात एप र सेवाहरु प्रदान गरिरहेका अलीबाबा, टेन्सेन्ट र अन्य ठूला इन्टरनेट कम्पनीलाई बितेका केही साताहरुमा एकाधिकार निर्माण गरेको र मुनाफाका लागि ग्राहकको डेटाको गलत प्रयोग गरेको भन्दै चेतावनी दिइएको छ। 

यस्तै ज्याक माको आन्ट गुप्रले पनि सांघाई र हङकङमा कारोबार सुरु गर्नुअघि नै आईपीओमा रोकको सामना गर्नुपरेको थियो। यद्यपि १० वटा ठूला लगानीकर्ताले कुवाइसोउमा २.४५ बिलियन डलरबराबरको लगानी गर्ने प्रतिबद्धता गरिसकेका छन्। – एजेन्सी