काठमाण्डौ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बीमितको सही विवरण पठाउन निर्देशन दिएको छ।

मन्त्रालयले सोमबार सूचना जारी जारी गर्दै बीमा दाबी भुक्तानी प्रमाणीकरणका क्रममा कतिपयको संक्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको भन्दै सात दिनभित्र बीमितको सही विवरण पठाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएको हो। मन्त्रालयले सात दिनभित्र सोमबारभन्दा अगाडिको मितिमा परीक्षण गरिएको तर तोकिएअनुसार विवरण छुट भएका विवरण तोकिएको ढाँचामा अलग्गै सफ्टकपी अनिवार्य रुपमा पठाउन निर्देशन दिएको छ। 

मन्त्रालयले तोकिएबमोजिमको समयभित्र र ढाँचामा ती विवरण उपलब्ध नभएमा कोरोना बीमा दाबी प्रमाणीकरण लागि अयोग्य ठहरिने चेतावनी दिएको छ। नियमित रुपमा तोकिएअनुसार रिर्पोटिङ नगरिएको पाइएमा ती प्रयोगशालाको सम्बन्धन खारेज गरी नियमानुसार कारबाही समेत गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ।

मन्त्रालयको सूचनामा केही व्यक्ति कोभिड परीक्षण गरिएको मितिभन्दा अगाडिको मितिमा नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा इडिसिडीमा रिर्पोटिङ भएको पाइएको उल्लेख छ। त्यसैले ती विवरणहरु कोरोना बीमा दाबी भुक्तानीका लागि प्रमाणीकरण अयोग्य भएको सूचनामा जनाइएको छ। 

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी सूचनामा कोरोना बीमाको भुक्तानी दाबी गरेका बीमितहरुले विभिन्न संस्थामा दौडधुप गर्नुपर्दा अनावश्यक दुःख पाइरहेको सन्दर्भमा गम्भीर ध्यानाकर्षण उल्लेख छ। त्यसैले कोरोना बीमा दाबीका लागि प्रक्रियामा रहेका तथा प्रमाणीकरण भएका बीमितहरुको विवरण के–कसो भइरहेको छ भनी स्पष्ट बुझिने र सहज हुने गरी नियमित रुपमा सबैको जानकारीका लागि सार्वजनिक रुपमा अद्यावधिक गर्ने व्यवस्था मिलाउन पनि सम्बन्धित निकायहरुलाई मन्त्रालयले निर्देशन दिएको छ।