काठमाण्डौ । कोरोनाको जोखिम बढ्दै गएपछि काठमाण्डौ विश्वविद्यालय (केयू) ले आज बिहीबार (चैत २६ गते) बाट पुनः अनलाइन माध्यमबाट पठानपाठन सुरु गर्ने भएको छ।

केयूले आजबाट स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङअन्तर्गतका सबै कार्यक्रमहरुको पठनपाठन अनलाइनबाट गर्ने निर्णय गरेको हो। विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण विश्वविद्यालयमा उपस्थित भई भौतिक रुपमा नियमित पठनपाठन गर्न कठिनाइ भएकाले यस असहज परिस्थितिमा क्षति न्यूनीकरण गर्दै लाने उद्देश्यले अनलाइन माध्यमबाट पठनपाठन सुरु गर्ने निर्णय गरिएको केयूद्वारा हिजो बुधबार जारी सूचनामा उल्लेख छ। 

दुवै संकायअन्तर्गतका सबै कार्यक्रमहरुको अनलाइन पठनपाठन आउँदो वैशाख मसान्तसम्म जारी रहने सूचनामा उल्लेख छ। यो अवधिमा स्कुल तथा विभागी प्रशासनहरु खुला रहने र अनुसन्धान तथा प्रोजेक्टका कार्यहरु सम्बन्धित प्रमुखहरुको निर्णयबमोजिम गर्न सकिने सूचनामा जनाइएको छ।