काठमाण्डौ । कोरोना महामारी नियन्त्रणका लागि तोकिएको स्वास्थ्य मापदण्ड उल्लंघन गरेको आरोप खेपेका बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्। 

मन्त्री ह्यानककले कोरोना नियन्त्रणका लागि अपनाइएको भौतिक दूरीको नियम उल्लंघन गर्दै स्वास्थ्य मन्त्रालयभित्रै आफूसँग काम गर्ने एक महिला सहकर्मीलाई अँगालो हालेर चुम्बन गरेका थिए। महिला सहकर्मीलाई चुम्बन गरेको फोटो द सन पत्रिकाले प्रकाशित गरेको थियो। त्यसपछि मन्त्री ह्यानककको निकै आलोचना भएको थियो।

आलोचनाबीच मन्त्री ह्यानककले प्रधानमन्त्री बोरिसन जोन्सनसमक्ष राजीनामा पेस गरेका हुन्। राजीनामापत्रमा लेखिएको छ, ‘यो महामारीमा आम नागरिकले जति गुमाएका छन्, त्यसलाई नजरअन्दाज गर्दै यदि हामीले कुनै गलत क्रियाकलाप गर्छौं भने त्यसको जिम्मेदारी लिँदै उनीहरुको इमानदारितलाई साथ दिनु हाम्रो नैतिकता हो।’

ह्यानककले आफूले कोरोना नियन्त्रणका लागि अपनाइएको मापदण्ड उल्लंघन गरेकोमा आमजनतासँग माफी पनि मागेका छन्। 

प्रधानमन्त्री जोन्सनले ह्यानककको राजीनमा स्वीकृत गरेका छन्। उनले स्वास्थ्यमन्त्रीमा साजिद जावेदलाई नियुक्त गरेका छन्। 

ह्यानकक र स्वास्थ्य मन्त्रालयमा कार्यरत गिना कोलाडन्गेलोले गत मे ६ मा अँगालोमा बाँधिएर चुम्बन गरेको फोटो द सनमा प्रकाशित भएको थियो। त्यसपछि उनलाई राजीनामा दिन लगातार दबाब परेको थियो। गिनाले पनि आफ्नो पदबाट राजीनमा दिएकी छन्। 

गिना र ह्यानकक विश्वविद्यालय पढ्दाताकाका साथी थिए। ह्यानककले गिनालाई वार्षिक १५ हजार पाउन्ड तलब दिने गरी स्वास्थ्य मन्त्रालयमा नियुक्त गरेका थिए। – एजेन्सी