काठमाण्डौ । कोभिड संक्रमण फेरि तीव्रगतिमा बढ्न थालेपछि चीनको सियान सहरमा लकडाउन जारी गरिएको छ। त्यहाँका १ करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिइएको छ।

गत डिसेम्बर ९ देखि त्यहाँ १४३ जनामा कोभिड पुष्टि भएपछि बुधबारदेखि लागू हुने गरी लकडाउन जारी गरिएको हो। लकडाउनसँगै प्रत्येक घरबाट एकजनाले दुई दिन बिराएर आवश्यक सामग्री किन्न घरबाहिर जान पाउने नियाम स्थानीय प्रशासनले लागू गरेको छ। 

सियानवासीहरु विशेष परिस्थतिबाहेक तथा अधिकारीहरुबाट अनुमति नलिई सहरबाट अन्यत्र जान पाउने छैनन्।

यो प्रतिबन्धात्मक व्यवस्था कहिलेसम्म कायम रहन्छ भन्ने खुलाइएको छैन।

सियानअवस्थित सान्सी प्रान्तमा लाखौँ मानिसको परीक्षण गरिएको छ। लामो दूरीका बस स्टेसनहरु बन्द भइसकेका छन् तथा सहरतर्फ जाने मार्गमा जाँचचौकी बनाइएको छ।

सियान विमानस्थलबाट हुने धेरै उडानहरु स्थगित भएका छन्।

अत्यावश्यकबाहेकका व्यापार–व्यवसायहरु बन्द भएका छन् भने सरकारी कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ।

त्यहाँ बार, जिमखाना र सिनेमाघर बन्द गर्न लगाइएको छ।

अहिले त्यहाँ कोरोनाभाइरसको डेल्टा भेरिअन्ट फैलिएको स्थानीय अधिकारीहरुले बताएका छन्। तर ओमिक्रोनको विषयमा केही उल्लेख गरिएको छैन।

चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको छ। महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण र लकडाउनजस्ता उपाय अवलम्बन गरिएको छ।

आगामी फेब्रुअरीमा ग्रीष्मकालीन ओलिम्पिक आयोजना गर्न लागेकाले चीनले अहिले कोभिडबारे उच्च सतर्कता कायम गरेको छ। –एजेन्सी