काठमाण्डौ । कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वमा सबैभन्दा बढी इटालीमा करिब १३ हजार मानिसको ज्यान गइसकेको छ। इटालीमा १ लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित छन्।

कोरोनाभाइरसका कारण पूरै इटाली अहिले हैरान छ। चिकित्सा व्यवस्था र सरकारमा पूरै हल्लीखल्ली मच्चिएको छ। 

इटालीमा चिकित्सकहरुले समेत ज्यान गुमाइरहेका छन्। अहिले हरेक दिन सयौँ मानिसले ज्यान गुमाइरहेका छन्। 

यही इटालीमा एउटा यस्तो गाउँ छ जहाँ कोरोनाको कहर पुग्न सकेको छैन। यो गाउँका मानिस सबै सुरक्षित छन्। 

यो गाउँको नाम हो मोन्ताल्दो तोरिनिज। यो इटालीको पूर्वी इलाका पियोदमोन्टको तुरिन सहरभित्र पर्छ। 

एउटा कुरा अचम्म लाग्न सक्छ कि त्यहाँका मानिस आफ्नो गाउँमा रहेको सफा पानी हुने कुवा र ताजा हावाका कारण कोरोनाको संक्रमण त्यहाँसम्म आइनपुगेको भन्न पछि पर्दैनन्। 

त्यहाँ मानिस गाउँको कुवाको पानीमा रहेको जादुले कोरोना आफ्नो गाउँमा प्रवेश गर्न नसकेको विश्वास राख्छन्। उक्त कुवाको पानी उपभोग गरेर सन् १८०० मा नेपोलियन बोनापार्टका सैनिकहरु ठीक भएको गाउँलेको मान्यता छ। नेपोलियनका सेनाहरुले सन् १८०० जुनमा त्यहाँ युद्ध शिविर खडा गरेका थिए।

मोताल्दो तोरिनिज गाउँ तुरिन सहरबाट करिब २० किलोमिटर भित्र पर्छ। हैरानको कुरा त यो छ कि केवल २० किलोमिटर टाढा रहेको तुरिन सहरमा भने हालसम्म कोरोनाभाइरसबाट ३ हजार ६०० जनाभन्दा बढी संक्रमित फेला परिसकेका छन्। 

पियोदमोन्टको हाल पनि खराब छ। यहाँ करिब ८ हजार २०० मानिस कोरोनाको चपेटामा परेको छ। तर यो गाउँमा अहिलेसम्म एकजना पनि संक्रमित फेला परेका छैनन्। 

पियोदमोन्टका मेयर सर्गेई गियोती पनि त्यही कुवाको पानी उपभोग गर्ने भएकोले त्यहाँका मानिस सुरक्षित रहेको हुन सक्ने अनुमान गर्छन्। ‘सायद त्यो कुवाको पानीमा रोगसँग लड्ने क्षमता विकास गर्ने त्यस्तो रसायन हुन सक्छ’, उनी भन्छन्। 

यद्यपि मेयर गियोती कोरोना संक्रमण रोकथामका लागि उक्त गाउँमा पनि सेनिटाइजर र मास्क वितरण गरिरहेका छन्। साथै कोरोनाभाइरसबारे पनि जनेचतनामूलक सन्देशहरु फैलाइरहेका छन्।
यो गाउँमा केवल ७२० जना मानिस बसोबास गर्छन्। यहाँ मानिसको जीवनशैली निकै सामान्य र स्वस्थ रहेको छ। यो गाउँ निकै सफा छ। – एजेन्सी