काठमाण्डौ । विश्वकै सबैभन्दा धनी महिलाको ९४ वर्षको उमेरमा निधन भएको छ । कस्मेटिक कम्पनी लोरियलकी मालिक लिलियन बेटेनकोर्टको अनुमानित सम्पत्ति ४० अर्ब डलर रहेको थियो । बिहीबार फ्रान्सको पेरिसस्थित आफ्नै निवासमा उनको निधन भएको बीबीसीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । 

सन् २०१७ को फोब्र्स म्यागजिनको लिस्ट अनुसार बेटेनकोर्ट विश्वको १४ औं धनी व्यक्ति तथा सर्वाधिक धनी महिला थिइन् । 

बेटेनकोर्टको निधनसँगै अब विश्वको कुन महिला सबैभन्दा धनी बने, हेर्नुहोस् सूचि:

१.एलिस वाल्टन


यो वर्ष फोब्र्स म्यागजिनको सूचिमा १७ औं स्थानमा एलिस वाल्टन थिइन् । उनी बेटेनकोर्ट भन्दा तीन स्थान मात्र पछि थिइन् । बेटेनकोर्ट यो दुनियाँमा नरहेपछि अब एलिस नै विश्वको सबैभन्दा धनी महिला बनेकी छिन् । 

अमेरिकी सुपरमार्केट वालमार्टका संस्थापक साम वाल्टनकी एक्ली छोरी ६७ वर्षीया एलिससँग ३३.८ अर्ब डलर सम्पत्ति छ । तथापि, आफ्ना भाई भन्दा ठीक विपरीत उनी परिवारको कम्पनीबाट अलग भइन् र आर्टमा ध्यान केन्द्रीत गर्दै उनले क्रिस्टल ब्रिजेस म्युजियम अफ अमेरिकन आर्टको अध्यक्ष बनिन् । 

२.ज्याकलिन मार्स


फोब्र्सले जारी गरेको अर्बपतिको सूचिमा २६ औं धनी व्यक्तिको रुपमा रहेकी ७७ वर्षीया ज्याकलिन मार्स आफ्नो परिवारको कन्फेक्सनरी कम्पनीमा २० वर्षसम्म काम गरिन्  र सन् २०१६ सम्म सो कम्पनीको संचालकको रुपमा रहिन् । उनको कुल सम्पत्ति २७ अर्ब डलर रहेको छ । हाल उनी वासिङ्टन नेशनल ओपेरा एण्ड नेशनल अर्काइवको बोर्डमा छिन् । 

३.मारिया फ्रेन्का फिस्लो
यो सूचिमा मारिया पहिलो यूरोपियन हुन् । इटलीकी मारिया प्रसिद्ध चक्लेट फेरेरो रोसेबाट प्रसिद्ध भएका माइकल फेरेरोकी बिधवा हुन् । यो कम्पनीले नटेला, किण्डरजोय तथा टिकटेक्स समेत बनाउँछ । यो कम्पनीलाई हाल उनका छोरा जियोवानीले सम्हाल्छन् । मारियासँग २५.२ अर्ब डलर सम्पत्ति रहेको छ । 

४.सुजेन क्लाटेन


यो सूचिमा दोश्रो धनी युरोपियनको रुपमा जर्मनकी ५५ वर्षीया सुुजेन रहेकी छिन् । सुजेनका परिवारका मानिस मरेका कारण उनलाई केमिकल कम्पनी अलटाना एजीको ५० प्रतिशत हिस्सा विरासतमा प्राप्त भएको थियो । साथै, उनी र उनका भाईको बिएमडब्ल्यूमा ५० प्रतिशत हिस्सेदारी समेत रहेको छ । उनको कुल सम्पत्ति २०.४ अर्ब डलर रहेको छ ।  

५.लरेन पावेल जब्स


विश्वका अर्बपतिहरुको ४० औं स्थानमा रहेकी लरेन विश्वकी पाँचौ धनी महिला हुन् । उनी एप्पलका सहसंस्थापक स्टीव जब्सकी विधवा पनि हुन् । एमरसन कलेक्टिभ सुरुवात गर्ने ५३ वर्षीया लरेनको सम्पत्ति २० अर्ब डलर रहेको छ । एप्पलमा उनको ०.७ प्रतिशत र डिज्नीमा ४ प्रतिशत हिस्सेदारी रहेको बीबीसीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।