– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। यो महिनादेखि नेप्सेले शुक्रबारको कारोबार बन्द गर्यो भने एक दिन सोमबार सार्वजनिक बिदा परेको थियो। यो साता जम्मा चार कारोबार दिनमा बजार ३ दिन घट्यो भने १ दिनमात्रै बढ्यो। 

गत साता १९१०.३८ मा बन्द भएको बजार यो साता १८३८.९६ मा बन्द भएको छ। यो हिसाबले यो साता बजारमा ७१.४२ अंकको गिरावट आएको छ। गत साता पनि बजारमा २७.३६ अंकको गिरावट आएको थियो। यस हिसाबले यो साता गत साताभन्दा बढी अंकले गिरावट आएको छ। 

यो साता बजारमा ३ अर्ब ९१ करोड रुपैयाँबराबर करोबार भएको छ। गत साता ६ अर्ब ८७ करोड रुपैयाँबराबरको कारोबार भएको थियो। समग्रमा यो साता बजारमा सूचक र कारोबार दुवैमा गिरावट आएको छ। 

डाउ थेउरीअन्तर्गत भन्नुपर्दा भने बजारले हरेक साता नयाँ लोवर लो बनाउँदै गरेको देखिन्छ। 

प्राविधिक पक्ष

क्यान्डल स्टिकका आधारमा 

क्यान्डल स्टिक भनेको सबैभन्दा छिटो संकेत दिने  औजार हो। यसले बजारको आगामी दिशाका बारेमा अनुमान लगाउन सहज हुने मानिन्छ। मैनबत्ती विश्लेषणका आधारमा यो साता नेप्सेको चार्टमा बियरिस मारुबुजु क्यान्डल बनेको देखिन्छ। यसले घट्दो बजारलाई संकेत गर्छ।

इचिमोकुका आधारमा

इचिमोकुमा आधारमा मूल्यरेखाहरुले क्लाउड पोजिसनभन्दा तल झरेका छन् (हेर्नुहोस् कालो एरो)। ल्यागिङ स्पान पोजिसन पनि क्लाउड पोजिसनभन्दा तल झरेको छ। क्लाउड पोजिसन पनि हरियोबाट रातो  भएको छ (हेर्नुहोस रातो एरो)। यसले बजारमा बियरिस यात्रा चल्दै गरेको बुझिन्छ। 

मुभिङ एभरेजका आधारमा 

अहिलेको बजारलाई ५० दिने र २०० दिने मुभिङ एभरेजका आधारमा हेर्दा ५० दिने मुभिङ एभरेजले २०० दिने मुभिङ एभरेजलाई २०२१ को २२ नोभेम्बरमा माथिबाट काटेर तल झरेको छ। (हेर्नुहोस् रातो एरो) 

यी दुई रेखाहरुको दूरी झनझन् टाढाटाढ हुँदै गएको देखिन्छ। यसले बजारको यात्रा बियरिस रहेको बुझिन्छ। 

बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा 

साप्ताहिक रुपमा बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाहरुले ब्यान्डको तल्लो ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ। म्याक्डीमा हिस्टोग्राम पोजिटिभ रहे पनि छोटाछोटा र फिक्का हुँदै गएका छन्। आरएसआई ३० को ओभरसोल्ड जोनमा रहेको देखिन्छ। घट्दो बजारमा यस्तो विन्दु लामो समय पनि ओभरसोल्ड जोनमा रहन सक्छ। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २१४२
  • प्रतिरोध २– २३११
  • प्रतिरोध ३– २३९८

पिभट प्वइन्टः २३९८

घटेमा सपोर्ट 

  • सपोर्ट १– १८८६
  • सपोर्ट २– १७९९
  • सपोर्ट ३– १६३०

निष्कर्ष 

सेयर बजार केही समयदेखि साइडवेज चल्दै गरेको देखिन्छ। विभिन्न औजारहरुले बजारमा बिक्रीचाप देखिन्छ। अहिले घट्दै गरेको बजार अघिल्लोपटक १८०६ मा बोलियो सपोर्ट देखिन्छ। तर, बजार केही समय साइडवेज तथा स्थिर हुँदै खस्दै गरेको छ। यसले पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ताले पनि क्रमशः बिक्रीचाप बढाउँदै गरेको बुझिन्छ। अघिल्लो साता जम्मा २७ अंकले घटेको बजार यो साता ७१ अंकले गिरावट आएको छ। यसले दसैँ नजिकिएसँगै बजारमा बिक्रीचाप परेको देखिन्छ। यो महिना बैंकहरुले ब्याजदर बढाउँदा पनि त्यसको असर पनि सेयर बजारमा परेको बुझिन्छ। 

प्राविधिक रुपमा पनि यो साता बजारमा रातो लामो मारुबुजु बियरिस क्यान्डल बनेको छ। यसले बजारमा बिक्रीचाप परेको देखिन्छ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेरमात्र लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।