काठमाण्डौ । पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माणको काम थाल्ने भएको छ।

पूर्वघोषणाअनुसार नर्भिकले हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधाले सम्पन्न ८ तले भवन निर्माणको काम थाल्ने भएको हो।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार नर्भिकको २९ औँ वार्षिकोत्सवको शुभमुहूर्त पारेर अत्याधुनिक भवन निर्माणको काम आगामी वैशाख १ गतेदेखि विधिवत रुपमा सुरु हुनेछ। 

सोमबार अस्पतालले भवन निर्माणका लागि रोशन कन्स्ट्रक्सन प्रालिसँग सम्झौतासमेत गरेको छ। सम्झौतामा नर्भिक अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंह र निर्माण कम्पनीको तर्फबाट डाइरेक्टर अरविन्दकुमार झाले हस्ताक्षर गरेका छन्। 

नयाँ भवन कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्टसहितको आधुनिक र सुविधासम्पन्न हुने अध्यक्ष सिंहले जानकारी दिए। उनका अनुसार १ लाख ६५ हजार स्क्वायर फिटमा आधुनिक भवन तयार हुनेछ। 

निर्माण सुरु भएको एक वर्षभित्रमा भवन तयार गरिसक्ने निर्माण कम्पनीले लक्ष्य लिएको छ।