काठमाण्डौ। दुई वर्षमाथि बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने क्युबा विश्वको पहिलो देश बनेको छ। 

क्युबा सरकारले सोमबारदेखि २ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई स्वदेशमै विकसित खोप लगाउन सुरु गरेको हो। बालबालिकालाई लगाएको ‘अब्डाला’ र ‘सोबर्ना’ नामक यी खोपहरु विश्व स्वास्थ्य संगठनबाट अनुमति प्राप्त भने होइनन्।

१ करोड २० लाख जनसंख्या भएको कम्युनिस्ट टापु यो देशले स्कुलहरु पुनः सञ्चालन हुनुभन्दाअघि देशका सम्पूर्ण बालबालिकालाई खोप लगाइसक्ने लक्ष्य लिएको छ। कोरोना महामारीका कारण क्युबाका विद्यालयहरु सन् २०२० को मार्चदेखि बन्द अवस्थामा छन्। 

यहाँको नयाँ शैक्षिकसत्र सोमबारदेखि सुरु भएको छ। तर क्युबाका अधिकांश जनतामा इन्टरनेटको पहुँच नभएका कारण बालबालिका टेलिभिजन कार्यक्रम हेरेर घरबाटै पढिरहेका छन्। 

क्युबाले गत शुक्रबारदेखि १२ वर्ष र १२ भन्दामाथि उमेरका बालबालिकाहरुलाई खोप लगाउन सुरु गरेको थियो। यो अभियानलाई निरन्तरता दिँदै सोमबारदेखि केन्द्रिय प्रान्त सिएनफुगोसका २ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउन सुरु गरिएको हो। 

विश्वका अन्य देशहरुले भने १२ वर्ष उमेरमाथिका बालबालिका खोप लगाइरहेका छन्। केहीले भने कम उमेरका बालबालिकामा पनि खोपको परीक्षण गरिरहेका छन्। 

चीन, यूएई र भेनेजुयला जस्ता देशहरुले कम उमेरका बालबालिकालाई खोप लगाउने योजना सार्वजनिक गरिसकेका छन्। तर यी सबै देशलाई उछिन्दै कम उमेरका बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप लगाउने क्युबा विश्वको पहिलो देश बनेको छ। 

यसैबीच चिलीले पनि ६ देखि १२ वर्ष उमेरका बालबालिकालाई चीनको सिनोभ्याक भ्याक्सिन लगाउन अनुमति प्रदान गरेको छ। 

क्युबाले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिन लेटिन अमेरिकाको पहिलो भ्याक्सिन हो। तर अन्तर्राष्ट्रियस्तरमा यो भ्याक्सिनको कुनै पनि वैज्ञानिक समीक्षा भने भएको छैन। 

क्युबा सरकारले सबै बालबालिकालाई खोप लगाइसकेपछि अक्टोबर र नोभेम्बरदेखि विस्तारै विद्यालयहरु पुनः सुचारु गरिने घोषणा गरेको छ। विद्यालयहरु बन्द गर्दा दीर्घकालीन खर्च धेरै हुने भन्दै युनिसेफले विश्वभरका देशहरुलाई विद्यालय पुनः सुचारु गर्न आग्रह गरेको छ। 

क्युबामा पछिल्ला केही महिनादेखि कोरोना संक्रमणमा वृद्धि भएको छ। जसले गर्दा यहाँको स्वास्थ्य प्रणालीमा दबाब परेको छ। 

कोरोना संक्रमणबाट क्युबामा हालसम्म ५ हजार ७०० जनाको मृत्यु भइसकेको छ। यीमध्ये करिब आधाजतिको मृत्यु गत महिनामात्रै भएको थियो। –एजेन्सी