काठमाण्डौ । विज्ञापनरहित टेलिभिजन च्यानल अर्थात क्लिन फिड लागू भएपछि १२ सय करोडभन्दा बढी लगानी भएको डिजीटल र टिभी केवल अपरेटरहरुको विजिनेशमा धक्का पुगेको छ । सरकारले पर्याप्त तयारीबिना नै क्लिन फिड लागू गरेपछि र यो नीतिको विषयमा पर्याप्त रुपमा प्रष्ट पार्न नसक्दा डिजीटल र केवल टिभी अपरेटरहरुको करोडौंको विजिनेश धराशायी बनाई नियमनमा नआएका क्षेत्रहरुलाई पोस्ने काम गरेको छ । 

क्लिन फिड लागू भए पनि हाल अबैध रुपमा नेपालमा प्रशारण गरिरहेका विदेशी डीटीएचको नियन्त्रण, विभिन्न माध्यम खासगरी मोबाइल एप्स, ओटीटी, भिडियो अन डिमान्ड तथा आइपी टिभीमार्फत् डाउनलिंक अनुमति नलिएका टेलिभिजन प्रशारणमा कुनै रोक लगाइएको छैन । यस्ता माध्यमबाट हुने प्रसारणहरु विज्ञापनरहित समेत बनाइएको छैन । यी माध्यममार्फत् भइरहेका गैरकानूनी प्रशारणलाई सरकारले तत्काल प्रतिबन्ध नलगाउने, तर सरकारी नियमनमा रहेका, वार्षिक रोयल्टी तिरेका र कर तथा राजश्वमा निकै ठूलो योगदान गरेका आफूहरुको विजिनेशमा सरकारले जानाजान धावा बोलेको केवल तथा डिजीटल टिभी अपरेटहरु बताउँछन् । 

उनीहरुका अनुसार सरकारको परस्परविरोधी नीति र व्यवहारका कारण गैरकानूनी काम गर्नेहरु फस्टाउने र कानूनी दायरामा रहेर विजिनेश गर्नेहरु चाउरिने अवस्था सिर्जना भएको छ । 'हाम्रो रेभेन्यूमा अहिलेदेखि नै स्पष्ट असर देखिन थालिसकेको छ ।' डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्य भन्छन्-'हाम्रो ओभरअल विजिनेशमा धक्का लागेको छ । तर, सरकारले क्लिन फिड नीतिको विषयमा आवश्यक रुपमा प्रष्ट पार्न नसक्दा विभेदको महसुस भएको छ । कानूनको दायरामा रहेर विजिनेश गर्ने हामीलाई निराश बनाइएको छ।' 

सरकारले विभिन्न माध्यमबाट आएका च्यानल वा प्रसारण सामाग्री क्लिन फिड छ या छैन भन्ने कुरातर्फ ध्यान नै नदिएको आचार्यको दाबी छ । 'ग्राहकले पहिला हेर्न पाइरहेका च्यानल हेर्न पाएका छैनन् । न्यूज च्यानल आएका छैनन्, यो सरकारको मतलबको विषय हो कि होइन ? प्रष्ट पार्नुपर्छ ।' उनले भने-'जस्तो सिएनएन नआउने घोषणा भइसकेको छ । बीबीसी अहिलेसम्म आएको छैन । हाम्रो बुझाईमा रेगुलेटेड उद्योगमा सरकारले ब्रेक लगाउने गलत काम गरेको छ ।' 

केवल तथा डिजीटल अपरेटरहरुको भनाईमा नियमनमा नरहेका माध्यमबाट खुलेआम विदेशी विज्ञापनसहितको कन्टेन्ट आइरहेका छन् । तर, सरकारले ध्यान दिएको छैन । 

'नियमन भएकाको घाँटी ङ्याक्ने र नियन्त्रणमा नआएकाहरुलाई चाहिँ ग्रुम हुन दिने खालको नीति भयो सरकारको ।'-डिसहोममा आचार्य भन्छन् ।

उनकाअनुसार डिजीटल र केवल टिभी अपरेटरहरुको विजिनेश डामाडोल बनाएर सरकारले अन्ततः ग्राहकलाई नै अप्ठ्यारो पार्ने काम गरेको छ । 'हाम्रो खर्च बढ्दो छ, यसको मार भनेको भोलि ग्राहकलाई नै पर्ने हो ।'-उनले थपे । 

कतिपय अपरेटरहरुले भने सरकारी निकायका निश्चित व्यक्तिहरुले जानाजान डिजीटल र केवल टिभी अपरेटरहरुको विजिनेश ध्वस्त बनाई विज्ञापन एजेन्सीलाई मात्र पोस्ने गरी विभेदकारी नीति अवलम्बन गरेको आरोप लगाइरहेका छन् । 

उनीहरुले क्लिन फिडका कारण देखिएका कतिपय अस्पष्ट व्यवस्थाको विषयमा प्रष्टता कायम गर्न, विभेदकारी व्यवहारको अन्त गरिदिन र करोडौंको लगानीको संरक्षणका लागि आवश्यक सहजीकरण गरिदिन समेत आग्रह गरेका छन् । 

'हामी खुम्चिँदा नेपाली मिडिया पनि खुम्चिन्छन् ।' डिस होमका आचार्य भन्छन्-'यो समस्या सरकारले तत्काल सम्बोधन गर्नुपर्छ ।' 

कसरी हुन्छ त समाधान ? 
आचार्यको विचारमा क्लिनफिडको राम्रोसँग परिभाषा गर्न आवश्यक छ । 

विज्ञापन भनेको के हो भन्ने कुरालाई समेत सरकारले राम्रोसँग परिभाषित गर्नुपर्ने अवस्था रहेको उनी दाबी गर्छन् । 'जस्तो प्रोमोलाई पनि विज्ञापन मान्ने हो कि होइन ?'-उनले भने ।

क्लिन फिडका कतिपय अस्पष्टताका कारण केवल र डिजीटल टिभी अपरेटरहरुको बेहाल हुने अवस्था देखिएको र यसले नेपाली टिभीहरु पनि ग्राहकसम्म नपुग्ने अवस्था बनेको आचार्य दाबी गर्छन् । 'क्लिन फिडको विषयमा सरकारले बेलैमा प्रष्ट नपार्ने हो भने अवस्था अझै भयावह बन्छ । हामीले हाम्रो व्यवसायको तालाचाबी सरकारलाई बुझाउनुको अर्को विकल्प बाँकी रहने छैन ।' उनले भने-'१२ सय करोड बढी लगानी भएको क्षेत्रलाई जर्जर बनाउने काम सरकारबाट हुनु भएन, हाम्रा समस्याको पनि तत्काल सम्बोधन गरियोस् ।'