काठमाण्डौ । पूर्ण अनलाइन कारोबार प्रणालीमा डिम्याट इन्ट्रीग्रेसन भएतापनि लगानीकर्ताहरु स्वयम्कै कारण क्लोजआउटको समस्या भने अहिले पनि हल भइसकेको छैन ।

सिस्टमले डिम्याट खाता चेक गरी सेयर बिक्री गर्न मिल्ने व्यवस्था भइरहँदा लगानीकर्ताका कतिपय हेल्चेक्र्यार्ईँ र लापरवाहीले क्लोजआउटमा जरीवानाको भागिदार बन्नु परिरहेको हो ।

सेयर बिक्री गर्दा हाल बिक्रीकर्ताको डिम्याट खातामा रहेको फ्रि ब्यालेन्स सेयर मात्र बेच्ने व्यवस्था छ । कुनै बेला सेयर सर्टेज भई क्लोजआउट पर्ने गरेको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट गत ४ साताको तथ्यांकअनुसार साताभरिमा न्यूनतम ११ लाख रुपैयाँ बढी र अधिकतम ४५ लाख रुपैयाँ बढी क्लोजआउटको जरिवाना असूल भएको छ ।

गत सेप्टेम्बर २० देखि २६ सम्म ९३० ओटा क्लोजआउटबाट ५० हजार ११२ कित्ता सेयर सर्टेज भएको थियो । जसबापतको कुल रकम १ करोड ४८ लाख ६८ हजार ८२९ रुपैयाँको क्लोजआउट जरिवाना २९ लाख ७३ हजार ७६५ रुपैयाँ असूल भएको छ । गत सेप्टेम्बर २७ देखि अक्टोबार ३ सम्म ५०५ ओटा क्लोजआउटबाट ३६ हजार ५८५ कित्ता सेयर सर्टेज भएको थियो र यसबापतको कुल रकम ७८ लाख ७३ हजार २३७ रुपैयाँको  १५ लाख ७४ हजार ६४७ रुपैयाँ क्लोजआउट परेको थियो ।

यसैबीच  अक्टोबर ४ देखि १० सम्म ४११ ओटा क्लोजआउटबाट ५४ हजार ३३९ कित्ता सेयर सर्टेज हुँदा सो सेयरबापतको कुल रकम २ करोड २८ लाख १९ हजार ६१० रुपैयाँको क्लोजआउट बाट मात्र जरिवाना ४५ लाख ६३ हजार ९२२ रुपैयाँ असूल भएको छ सीडीएससीले जनाएको छ । 

यसैगरी गत अक्टोबर ११ देखि १५ सम्म १९९ ओटा क्लोजआउटमा २४ हजार ४७४ कित्ता सेयर सर्टेज भई कुल रकम ५६ लाख ६९ हजार ४४ रुपैयाँ बापतको ११ लाख ३३ हजार ८०८ रुपैयाँ क्लोजआउट परेको सीडीएससीको तथ्यांक छ ।

डिम्याट चेक भएतापनि किन क्लोजआउट ?
आम सर्वसाधारणको यो जिज्ञासा हुनसक्छ कि डिम्याट चेक भएपछि मात्र सेयर बेच्ने मिल्ने भएपछि क्लोजआउट नपर्नुपर्ने हो । तर यसभित्र पनि धेरै अन्तरनीहित कुराहरु छन् । 

बजारको बढोत्तरी र घटाइमा लगानीकर्ताहरुले जानाजान नियत खराब बनाई सेयर ट्रान्सफर नगर्दा पनि क्लोजआउट पर्दछ । लगानीकर्ताहरुले भूलवश इडीआइएस वा डीआइएस नगरिदिँदा समेत क्लोजआउट परेका घटना थुप्रै छन् ।

क्लोजआउट पर्ने अर्को मुख्य कारण सम्बन्धित बिक्रीकर्ता(डिम्याटखाता धारी)को डिम्याट खाता रिन्यू नहुँदा समेत क्लोजआउट पर्दछ । डिम्याट खाता रिन्यू भइदिँदा बिक्रीकर्ताको सेयर फ्रिजमा रहेको हुन्छ, तर फ्रि ब्यालेन्समा भएका सेयरमात्र बिक्री गर्न मिल्ने भएकाले पनि क्लोजआउट पर्दछ । त्यसैले समयमै डिम्याट खाता रिन्यू गरेर पनि क्लोजआउट पर्ने जोखिम कम गर्न सकिन्छ ।

बिक्रीकर्ताले मेरो सेयरमा माइ पर्चेच सोर्समा आफ्नो डब्लूएसीसी(भारित औसत लागत) गणना गर्ने तर लगानीकर्ताहरुले इडीआइएस गर्न बिर्सने बानीले समेत क्लोजआउटको संख्या ह्वात्तै बढेको हो । 

यस्तै लगानीकर्ताले बिक्री गरेको २ कार्यदिनभित्र इडीआइएस गर्नुपर्छ, तर राफसाफकै दिन भने इडीआइएस गर्न नमिल्ने भएका कारण लगानीकर्ताहरुले समयमा इडीआइएस नगर्दा पनि क्लोजआउट पर्छ ।

कतिपय लगानीकर्ताहरु सेयर बिक्री गर्न ब्रोकरलाई फोन, इमेलआदि मार्फत अर्डर गर्ने वा अनलाइनमार्फत सेयर बिक्री गर्ने तर, त्यसपछिको दायित्वका लागि सम्पर्कमा नआउँदा समेत क्लोजआउटको संख्या बढिरहेको छ । 

सेयर बिक्रीपछि इडीआइएस गर्नुपर्छ भन्ने कुरा लगानीकर्ताहरुले हेक्का नराख्ने र लापरवाही गरेका कारणसमेत क्लोजआउटको सम्भावना बढेको देखिएको अधिकारीहरु बताउँछन् । 

कतिपय कम्पनीहरुले विभिन्न संस्थाका बचतकर्ता वा कार्यरत कर्मचारीलाई छुट्याईएको सेयर डिम्याट खातामा देखिने र यता बजार बढिरहेका बेला सो सेयर बिक्री गर्न अर्डर गर्ने परिपाटी छ । तर ती आरक्षित सेयरहरुको लकइन पिरियडपछि मात्र बिक्रीका लागि योग्य हुन्छन् । कतिपय यही अवस्थाले  समेत क्लोजआउट बढिरहेको बताइन्छ ।

यसरी सेयर बिक्री गर्नु अगावै बिक्रीकर्ताले विविध पक्षमा ध्यान दिनुपर्ने र बिक्री पछिका दायित्वका सम्बन्धमा पनि जानकार भएमा क्लोजआउटको सम्भावना न्यूनीकरण गर्न सकिने र अनावश्यक जरिवानाको भारबाट राहात पाइने जानकार बताउँछन् ।