– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘धितोपत्र कारोबार सञ्चालन तेस्रो संशोधन विनियमावली, २०७९’ बोर्डको सञ्चालक समितिबाट केही दिनअघि पारित गरेको छ। सेबोनबाट पारित गरिएको उक्त विनियमावली कार्यान्वयनका लागि नेप्सेमा पठाएको छ। नेप्सेले विनियामवाली कार्यान्वयन गर्नका लागि कार्यविधि तयार गर्ने प्रक्रिया अघि बढाइसकेको छ।  

उक्त विनियामवालीमा सेबोनका साथै नेप्सेका कर्मचारी, केही ब्रोकर र सरोकारवालाले तीव्र असन्तुष्टि राखेका छन्। सरोकारवालाले उक्त विनियामवालीको विनियम २१ (क) र २१ (ख) मा आफ्नो असन्तुष्टि राखेका छन्।

विनियामवालीको २१ (क) को उपविनियम ६’मा कारोबार व्यवस्थापन प्रणालीको स्वदेशी वा विदेशी रास्ट्रियस्तरको कम्तीमा कुनै एउटा स्टक एक्सचेन्जमा आबद्ध र कम्तीमा १० वटा कारोबार सदस्य वा स्टक ब्रोकरले प्रयोग गरिरहेको हुनुपर्नेछ’ भनेर उल्लेख छ। ‘नेपालमा अहिले ५० वटा ब्रोकर सञ्चालनमा छन्। सेबोनले नयाँ ब्रोकर थप्ने भन्ने चर्चा पनि सुनिन्छ’, सेबोनकै एक उच्चस्तरका कर्मचारी भन्छन्, ‘पारित गरिएको विनियामवालीमा टीएमएस ल्याउने कम्पनी कुनै एउटा स्टक एक्सचेन्जमा कम्तीमा १० वटा ब्रोकरले प्रयोग गरिएको हुनुपर्ने भनिएको छ। भोलि उक्त टीएमएस सञ्चालनमा भएका ५० वटा ब्रोकरले नै चलाउन पाएनन् वा उक्त टीएमएस कुनै एक ब्रोकरले चलाउँदै गर्दा बजारमा केही दुर्घटना भयो भने त्यसको जिम्मेवारी कसले लिन्छ ? सेबोन अध्यक्षले कसैको ईशारामा उक्त पोलिसी ल्याएको बुझिन्छ।’

विनियामवालीको विनियम २१ (ख) को ‘कारोबार व्यवस्थापन प्रणाली विकासकर्ताको योग्यता’को उपविनियम १ मा विकासकर्ताले सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको कार्यानुभव हुनुका साथै विगत ३ वर्षको औसत वार्षिक कारोबार कम्तीमा सात करोड रुपैयाँ हुनुपर्ने उल्लेख छ। ‘टीएमएस बनाउने कम्पनीको ५ वर्ष कार्यानुभव र औसत वार्षिक कारोबार कम्तीमा ७ करोड रुपैयाँ हुनुपर्ने विनियामवालीमा भनिएको छ। ७ करोड रुपैयाँ त नेपाली सेयर बजारमा एउटै ब्रोकरले कारोबार सुरु भरको १५ मिनेटमा गर्छ। सेबोनले कसको स्वार्थमा कस्तो टीएमएस ल्याउन खोजेको हो ?’, प्रश्न गर्दै एक ब्रोकर सञ्चालक भन्छन्, ‘मेरो विचारमा सेबोनले पारित गरेको उक्त विनियामवालीले नेपालको पुँजीबजारलाई ठूलो दुर्घटना तिर लादैछ। भोलिको दिनमा बजारमा त्यस्तो केही भएको खण्डमा त्यसको जिम्मा सेबोन र सेबोन अध्यक्षले लिनुपर्छ।’

विनियामवालीको विनियम २१ (ख) को उपविनियम २ मा विदेशी कम्पनीबाट विकास गरिएको कारोबार व्यवस्थापन प्रणाली स्थापना गरिने भएमा त्यस्तो कम्पनीले नियुक्ति गर्ने स्थानीय प्रतिनिधिको कम्तीमा १ करोड पुँजी र वित्तीय क्षेत्रमा कम्तीमा ३ वर्ष कार्यानुभव भएको हुनुपर्ने उल्लेख छ। नेपालको सेयर बजारमा कुनै बेला झन्डै २२ अर्बको कारोबार भएको थियो। झन्डै ३०–४० खर्ब बजार पुँजीकरणमा सेबोनले १ करोड पुँजी भएको कम्पनीलाई स्थानीय प्रतिनिधि नियुक्त गर्न पाइने भनेसँगै बोर्डले पुँजीबजारजस्तो संवेदनशील क्षेत्रमा एपीआई पोलिसी ल्याउँदा लापरबाही गरेको सेबोन र नेप्सेका कर्मचारी बताउँछन्।

सेबोन अध्यक्ष रमेशकुमार हमालले सेबोनबाट पारित भएको पोलिसी अहिलेसम्मको नै उत्कृष्ट रहेको दाबी गर्दै आएका छन्। तर, सेबोनले पुँजीबजारजस्तो क्षेत्रमा विकासकर्ताका साथै स्थानीय प्रतिनिधिको योग्यता र मापदण्ड बलियो राख्नुपर्ने ठाउँमा लचिलो मापदण्ड राखी टिएमएस ल्याउने बाटो खुलाउँदा बोर्ड अध्यक्षको एपीआई पोलिसी ल्याउनुको प्रमुख उद्देश्यमा नै सरोकारवालाहरुले प्रश्न उठाउन सुरु गरेका हुन्।