काठमाण्डौ । खल्ती डिजिटल वालेटले खल्तीमा पहिलोपटक बैंक लिंक गरेमा रु. १०० बोनस पाउने अफर ल्याएको छ। यो अफर  लोड गर्ने झन्झटबाट मुक्त गरी अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको हो।

हाल खल्तीमा लिंक गर्न योग्य २० बैंक उपलब्ध छन्। तसर्थ, पहिलोपटक आफ्नो बैंक खाता खल्तीमा लिंक गर्ने प्रयोगकर्तालाई मात्र बोनस उपलब्ध हुनेछ। बैंकहरु लिंक गर्न, प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गर्नुपर्छ। यो अफर चैत ९ गते २०७८ देखि वैशाख ८, २०७९ गतेसम्म लागू हुनेछ। 

प्रयोगकर्ताहरुले एकपटक खल्तीमा बैंक लिंक गरिसकेपछि पैसा लोड नगरी केही सेकेन्डमै भुक्तानी र बैंक ट्रान्सफर गर्न सक्नेछन्। यसले सबैलाई तुरुन्तै विद्युत, पानी, इन्टरनेट, राजस्व र अन्य उपलब्ध सेवाको झन्झटमुक्त भुक्तानी गर्न सक्नेछन्। 

यस अफरका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘खल्तीमा घरि–घरि पैसा राख्ने झन्झटबाट मुक्त गर्न बैंक लिंक सुविधा फाइदाजनक छ। यही कारण यो सिविधा प्रयोग गर्न प्रोत्साहन गर्न दोस्रोपटक यो अफर ल्याएका हौँ। हामी हाम्रा प्रयोगकर्तालाई यो सुविधा पूर्ण रुपमा प्रयोग गर्न र उनीहरुको समय बचत गर्न प्रोत्साहित गर्न चाहन्छौँ।’

‘खल्ती’ नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डका रुपमा स्थापित भएको छ। २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।