काठमाण्डौ । आफ्नो सेवालाई डिजिटलाइज गरेर थप सरल बनाउने उद्देश्यका साथ एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) र खल्तीबीच साझेदारी भएको छ। 

यस साझेदारीसँगै अब अपेनसँग आबद्ध रहेका ६०० भन्दा बढी मनटेश्वरीले नवीकरण शुल्क तथा कार्यक्रम शुल्कको सजिलै खल्तीमार्फत भुक्तानी गर्न सक्नेछन्। यसका साथै अपेनसँग जोडिन चाहने मनटेश्वरीले पनि अपेनको रजिस्ट्रेसन शुल्क ‘खल्ती’बाट भुक्तानी गर्न सक्नेछन्।

खल्तीले अपेनसँग आबद्ध रहेका हरेक मनटेश्वरीलाई डिजिटल शुल्क संकलनको सुविधा प्रदान पनि गरेको छ। जसअन्तर्गत अब अपेनसँग आबद्ध भएका र हुन चाहने सम्पूर्ण मनटेश्वरीले निःशुल्क रुपमा डिजिटल शुल्क संकलन गर्न सक्नेछन्। यसका साथै ५०० निःशुल्क एसएमएसको फाइदा पनि लिन सक्नेछन्।

अपेन काठमाण्डौ जिल्ला प्रशासन र समाज कल्याण परिषदमा दर्ता भएको गैरनाफामुखी संस्था हो। संस्थाले सामान्यतया अभिभावकको भूमिका खेल्दै प्रिस्कुललाई आवश्यक मार्गदर्शन र परामर्श प्रदान गर्छ। यसका साथै बालबालिका, शिक्षक र प्रिन्सिपललाई विभिन्न अभिमुखीकरण, स्टेज कार्यक्रम र प्रेरक कार्यक्रमहरुमार्फत अघि बढ्न प्रेरित गर्छ। 

यस सेवाबारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘अपेनसँग मिली डिजिटल शिक्षा प्रणालीमा पनि सेवा गर्न पाउनु हाम्रा लागि एक महत्वपूर्ण अवसर हो। हाम्रो यस साझेदारीले परम्परागत शुल्क संकलन प्रणालीलाई डिजिटलाइज गर्दै शैक्षिक क्षेत्रको वित्तीय कारोबार अझै सरल र सुरक्षित बनाउनेमा हामी विश्वस्त छौँ।’ 

भर्खरै स्टार्ट–अप सक्सेस अवार्डबाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा छ। नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डका रुपमा स्थापित गर्न सफल भएको छ। देशभर २३ लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताका साथमा ६० हजार बढी एजेन्ट नेटवर्कको प्रयोगकर्ताहरु बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी यी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।