काठमाण्डौ । खाडी मुलुकमा फौजी तनावका बीच कच्चा तेलको मूल्यमा तीव्र बढोत्तरी हुन थालेको छ । ब्रेन्ट क्रूड तथा बेस्ट टेक्सास इन्टरमिमिएट(डब्ल्इूटीआई)को मूल्यमा शुक्रबार एक दिनमा मात्रै ३ प्रतिशतको उछाल आएको छ । 

ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल ६९ डलरभन्दा माथि पुगिसकेको छ भने डब्ल्यूटीआईको मूल्य प्रति ब्यारेल ६३ डलर भन्दा माथि पुगिसकेको मिडिया रिपोर्टहरुमा जनाइएको छ । 

नेपालका लागि आवश्यक तेल भारतबाट आउने गर्छ । भारतले ब्रेन्ट क्रूड खरीद गर्ने गर्छ । ब्रेन्ट क्रूडको मूल्यमा बढोत्तरीको सोझो असर भारतबाट नेपालले ल्याउने डिजल, पेट्रोल तथा एलपीजी ग्याँसको मूल्यमा पर्नेछ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको असर नेपालजस्तो निर्यातमुखी अर्थतन्त्रमा अझ गम्भीर रुपमा पर्नेछ भने यसले तमाम एशियाली देशहरुको बजारलाई नराम्री प्रभावित गर्नेछ ।

कच्चा तेल पनि दुई खालको हुन्छ । तीमध्ये एउटा हो ब्रेन्ट क्रूड, जुन लण्डनमा ट्रेड हुन्छ । यस्तै, डब्ल्यूटीआई चाहि अमेरिकामा ट्रेड हुन्छ । अमेरिका तथा इरानबीच बढेको अहिलेको तनावका कारण ब्रेन्ट क्रूडको मूल्य प्रतिब्यारेल ७० डलर भन्दा माथि जानसक्ने जानकारहरुले बताइरहेका छन् । 

खासमा इराकमा अमेरिकी सैनिकको हवाई हमलाबाट इरानका एक सैन्य कमाण्डरको मृत्यु भएको छ । यसले खाडी क्षेत्रकै फौजी तनावको पारो बढाउने काम गरिदिएको संचारमाध्यमहरुले जनाएका छन् । 

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा सेप्टेम्बरपछिकै उच्च विन्दूमा पुगेको छ । मूल्य अझै बढ्नसक्ने अनुमान गरिएको छ । 

यदि खाडी मुलुकमा फौजी तनाव अझै बढ्यो भने आगामी दिनमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७३ डलरभन्दा माथि पुग्नसक्ने विज्ञहरुको दाबी छ ।