काठमाण्डौ । खाने तेलको मूल्यलाई घटाउने उद्देश्यले भारत सरकारले तिहारअघि निकै ठूलो भन्सार छुटको घोषणा गरेको छ । भारत सरकारले कच्चा पाम आयल, सोयाबिन तथा सनफ्लावर आयलमा लाग्दै आएको आयात शुल्क ६ महिनाका लागि हटाइदिएको छ । 

यस्तै, भारत सरकारले विभिन्न खानेतेलहरुमा लिने कृषि कर पनि घटाइदिएको छ । जस्तो कच्चा पाम आयलको कृषि कर २० प्रतिशतबाट घटाएर ७.५ प्रतिशतमा सीमित गरिएको छ भने कच्चा भटमास तथा सनफ्लवार तेलको यस्तो कर घटाएर ५ प्रतिशतमा झारिएको छ । 

भारतको सेन्टल ब्यूरो अफ इनडायरेक्ट एण्ड कस्टम्सले भनेको छ कि आगामी मार्च ३१ सम्म यी खानेतेलहरुमा इम्पोर्ट ड्यूटी(आयात कर) लाग्ने छैन । तर, रिफाइन गरिएको भट्मासको तेल तथा सनफ्लवार तेलको आयात शुल्कमा भने कुनै परिवर्तन गरिएको छैन । 

भारत सरकारले कच्चा तथा तयारी पाम तेल, भट्मास तथा सनफ्लावर तेलको आयात कर १६.५ प्रतिशतदेखि १९.२५ प्रतिशतसम्म कटौति गरिदिएको छ । आयात कर कटौतिले कच्चा पाम आयलको आयात कर प्रतिटन १४ हजार भारु तथा सनफ्लावरमा प्रतिटन २० हजार भारुसम्मले मूल्य घट्नसक्छ । 

भारतीय मिडियाहरुका अनुसार आयात कर कटौतिको पूरा फाइदा उपभोक्तालाई भने प्राप्त नहुनसक्छ । खासमा यो खबरपछि मलेशियामा पाम आयलको मूल्य १५० देखि १७० रिंगेट प्रतिटन बढेको छ । तर, रिफाइन्ड पाम आयलको मूल्यमा भने ६ देखि ८ रुपैयाँ प्रतिकिलोको दरमा कमी आउनसक्छ । 

नेपाललाई कस्तो प्रभाव पार्ला ?
भारत सरकारले आयात शुल्क तथा कर कटौति गरिदिंदा भन्सार फरकको लाभ लिएर भारत तेल निकासी गर्ने नेपालका उद्योगीहरु प्रत्यक्ष प्रभावित हुने देखिएको छ । कतिपयले त अब भारत निकासी गर्नै नसकिने अवस्था सिर्जना भएको बताएका छन् । 

यसअघि तेश्रो मुलुकबाट कच्चा तेल आयात गरी त्यसलाई रिफाइन गरेर भारत निकासी हुने गरेको थियो । भारतको आयात कर निकै महंगो हुँदाको फाइदा नेपाली उद्योगीहरुलाई भइरहेको थियो । तर, भारतले आयात शुल्क समेत घटाई कृषि कर समेतलाई घटाइदिएपछि अब नेपालबाट रिफाइन गरी तेल भारत निकासी गर्ने संभावना लगभग सकिएको जानकार बताउँछन् । उनीहरुका अनुसार भारतको यो कदमबाट नेपालको ७५ अर्ब बढीको निकासी व्यापार ठप्प हुने अवस्था सिर्जना भएको छ । 

यो निर्णयबाट अब नेपालमा भन्दा भारतमै रिफाइन तेलको मूल्य सस्तो पर्नेछ । स्वदेशमै तेलको मूल्य सस्तिएपछि नेपालबाट तेल आयात गर्नुपर्ने आवश्यकता भारतलाई पर्नेछैन ।