काठमाण्डौ । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले हालका दिनहरुमा खाने तेलमा भएको मूल्यवृद्धि सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुमा आएका समाचारहरुप्रति ध्यानाकर्षण जनाएको छ।

यस सम्बन्धमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट समेत संघसँग स्पष्टीकरण माग गरेको थियो। त्यसपछि संघले विज्ञप्ति जारी गर्दै यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ।  

संघले संघमा आबद्ध रहेका २२ वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगहरुले आ–आफ्ना उत्पादनहरु सोयाबिन तेल, सनफ्लावर तेल इत्यादि उत्पादन गरी स्थानीय बजारमा बिक्रीवितरण र नियमित रुपमा आपूर्तिसमेत गर्दै आइरहेको स्पष्ट पारेको छ। ‘उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल, क्रुड पाम आयल र तोरीको गेडा सतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानाडा, अस्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात नै गर्नुपर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘जसमा क्रुड सनफ्लावर तेल ९५ प्रतिशतदेखि १०० प्रतिशत र तोरीको गेडा ६० प्रतिशतदेखी ८० प्रतिशत युक्रेनबाट मात्र आयात हुने गरेको छ।’ 

उद्योगहरुले विगतमा विश्वमा फैलिएको महामारी कोभिड महामारीको समयमा समेत खाने तेलको आपुर्तिमा कमी हुन नदिई स्थानीय बिक्रीलाई निरन्तर रुपमा कायम नै राखेको संघले दाबी गरेको छ। ‘हालैका दिनमा रसिया र युक्रेनमा भएको युद्धकालको परिस्थिति अप्राकृतिक हो’, संघले भनेको छ, ‘यो सधैँसम्म रहन सक्दैन।’

विश्व वजारमा नै कच्चा तेलहरुको अभाव सिर्जना भई क्रुड आयलहरुको मुल्यमा अस्वाभाविक रुपमा करिब ४० देखि ५० प्रतिशतसम्म वृद्धि हुन पुगेको संघले जनाएको छ। ‘जुन हालसम्मकै ऐतिहासिक मूल्यवृद्धि पनि हो’, विज्ञप्तिमा भनिएको छ। 

गत पुस र माघ महिनामा अन्तर्राष्ट्रिय बजारमा भएको गिरावटका कारण उद्योगहरुले उच्च मूल्यको परल मूल्यमा घाटा खाएरसमेत खानेतेल बिक्री गरेको संघले जनाएको छ। ‘हाल चलनचल्तीको अन्तर्राष्ट्रिय परल मूल्यअनुसारको नेपालको बिक्री मूल्य परिमार्जित हुन सकेको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा कच्चा पदार्थ सतप्रतिशत तेस्रो मुलुकबाट आयात गर्नुपरेकोले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा हुने उतारचढावअनुसार नै स्थानीय बजारको मूल्य निर्धारण गर्ने प्रक्रिया नेपालका उद्योगहरुको बाध्यता रहेको छ।’

यस विषम परिस्थितिमा उपभोक्ताले समेत तेलको दैनिक खपतमा सकेसम्म धैर्यधारण गरी हल्ला र भयको भरमा कृत्रिम अभावको सिर्जना नगरी दिनका लागि संघले अपिल गरेको छ। 

खाने तेलमा भन्सार महसुल १० प्रतिशत र मुल्य अभिवृद्धि कर १३ प्रतिशत भएको साथै कच्चा पदार्थको मूल्यमा भएको दोब्बरभन्दा बढी वृद्धिका कारण गत वर्षमा महसुल सरदर रु. २० प्रतिलिटर रहेकोमा हाल सरदर रु. ६५ प्रतिलिटरभन्दा बढी पुिगसकेको संघले जनाएको छ। ‘उपभोक्तालाई राहत दिनका लागि श्रीलंका, भारतलगायतका देशहरुले आफ्नो देशमा आयात हुने भन्सार महसुलमा उच्चतम कटौतीसमेत गरिसकेका छन्’, संघले भनेको छ, ‘अतः नेपाल सरकारले समेत हाल कायम रहेको भन्सार महसुल र मु.अ.करमा पुनर्विचार गर्नुपर्छ।’ 

संघका सदस्य उद्योगहरुवाट आपूर्ति अवस्थालाई सुचारु राखी कृत्रिम रुपमा मूल्यवृद्धि नगर्ने र यो विषम परिस्थिति सम्पूर्ण विश्वले नै भोगिरहेकोले आउँदो दिनमा पक्कै केही न केही समाधान हुने विश्वास राख्दै उद्योगहरुसँग कच्चा तेलको मौज्दात र उपलव्धता रहेसम्म आपूर्तिमा कुनै कमी हुन नदिने संघले प्रतिबद्धता जनाएको छ।