काठमाण्डौ । तीव्र सुधारको बाटोमा रहेको नेपाल बैंक लिमीटेडले आज(मंगलबार)देखि बिक्री नभएको १ लाख ८९ हजार ६ सय २९ कित्ता साधारणतर्फको हकप्रद सेयर बोलकबोलबाट बिक्रीको प्रक्रिया खुलाई शिलबन्दी दरखास्त लिन थालेको छ । 

यो बैंकले बैशाख ७ गतेदेखि १०० बराबर २३.७४ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेकोमा साधारणतर्फ १ लाख ८९ हजार ६ सय २९ कित्ता बिक्री भएको थिएन । 

लिलामीमा सहभागी हुन चाहनेले प्रति कित्ता न्यूनतम १ सय रुपैयाँ मूल्य उल्लेख गर्नैपर्ने हुन्छ भने न्यूनतम १ सय कित्ताका लागि शिलबन्दी दरखास्त दिनुपर्ने हुन्छ । 

लिलामीमा सहभागी हुन चाहनेले शिलबन्दी दरखास्त आगामी असार १७ गतेभित्र दिइसक्नुुपर्नेछ । लिलामीको नतिजा असार २० गते सार्वजनिक हुने बिक्री प्रबन्धकको काम गरिरहेको सिभिल क्यापिटल मार्केट लिमीटेडले जनाएको छ । 

इच्छुकले काठमाण्डौको सिटीसी मलस्थित सिभिल क्यापिटलको मुख्य कार्यालयबाट लिलामीको दरखास्त दिन सक्नेछन् । 

नेपाल बैंक लिमीटेडले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २ अर्ब ५१ करोड खूद नाफा आर्जन गरेको छ । यो बैंकको चुक्तापूँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । हकप्रदको सम्पूर्ण पूँजीकरणपछि चुक्तापूँजी ८ अर्ब ४ करोडको उचाईमा पुुग्नेछ । यो बैंकको अन्तिम सेयर बिक्री मूल्य प्रतिकित्ता ३ सय ४२ रुपैयाँ रहेको छ ।