काठमाण्डौ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मतगणना सोमबार साँझसम्म सम्पन्न हुँदैछ । 

फागुन २० गते सुरु भएको महाधिवेशनमा सभापति पदमा वरिष्ठ नेता शेरबहादुर देउवा भारी मतले विजयी भइसकेका छन् । महामन्त्रीमा सशांक कोइरालाले फरक प्यानलबाट बाजी मारेका छन् भने कोषाध्यक्षमा सिरहाकी सीता यादवले चित्रलेखा यादवलाई पछारेकी छिन् । 

निकै लामो समयको प्रतिक्षा, कौतुहुलतापछि सोमबार कांग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको परिणाम समेत आएको छ । यसपटकको निर्वाचनमा खुल्लातर्फ केन्द्रीय सदस्यमा जित हासिल गर्दै न्यून संख्यामा मात्र नयाँ अनुहार भित्रिएका छन् भने बाँकी अनुहार सबै पुरानै छन् । तर, पुराना अनुहारको लोकप्रियता चाहि व्यापक फेरबदल भएको छ । १२ औं महाधिवेशन र १३ औं महाधिवेशनमा खुल्लातर्फ केन्द्रीय सदस्यमा निर्वाचित कांग्रेसका हस्ती नेताहरुको लोकप्रियताको यहाँ तुलनात्मक विश्लेषण गर्न खोजिएको छ । 

०६७ असोज ५ गते सम्पन्न नेपाली कांग्रेसको १२ औं महाधिवेशनको २५ जना खुल्ला केन्द्रीय सदस्यतर्फ निर्वाचित मध्ये यसपटक केही नेता पदाधिकारीमा उठेर हारेका छन् भने दोहोरिएका केहीले आफ्नो पूर्ववत स्थानमा सुधार गरेका छन् भने धेरैको लोकप्रियता कम भएको देखिएको छ । 

१२ औं महाधिवेशनमा १४३५ मत ल्याएर २५ केन्द्रीय सदस्यमध्ये १३ औं स्थानमा रहेका नेता डा. मिनेन्द्र रिजाल यसपटक २५ औं स्थानमा पुगेका छन् । यसैगरी, छैठौं स्थानमा चुनाव जितेकी सुजाता कोइरुाला १५ औं स्थानमा धकेलिएकी छिन् । १२ औं महाधिवेशनमा खुल्लातर्फ तेश्रो बढी मत ल्याएर विजयी खुमबहादुर खड्का आफूलाई एकस्थान माथि उकास्दै दोश्रो स्थानमा आइपुगेका छन्।  आफ्नो लोकप्रियतामा सबैभन्दा धेरै सुधार कांग्रेस नेता शेखर कोइरालाले गरेका छन् । १२ औं महाधिवेशनको मत परिणाममा १५३१ मतसहित ११ औं स्थानमा रहेका कोइरालाले १३ औं महाधिवेशनमा भने एकनम्बर पोजिसिन कायम गरेका छन् । यसपटक उनले १८४८ मत प्राप्त गरेका छन् । 

१२ औं महाधिवेशनमा ५ औं स्थानमा रहेका प्रदीप गिरीले यसपटक पनि ५ औं स्थानमै चुनाव जितेका छन् । अघिल्लो महाधिवेशनमा आठौ स्थानमा रहेका डा. रामशरण महत १४ औं स्थानमा, १० औं स्थानमा रहेका एनपी साउद १८ औं स्थानमा धकेलिएका छन् । बालकृष्ण खाँडले चाहि आफ्नो लोकप्रियतामा सामान्य सुधार गरी ९ औ स्थानबाट एक स्थान माथि अर्थात आठौ स्थानमा उक्लिएका छन् । 

१२ औ महाधिवेशनमा १२ औं स्थानमा रहेका महेश आचार्यले १ स्थान माथि उक्लिने सफलता पाएका छन् भने डा. प्रकाशरण महत १४ औं स्थानबाट धकेलिएर २३ औं स्थानमा पुगेका छन् । चन्द्र भण्डारी १६ औं स्थानबाट २२ औं स्थान, डा. नारायण खड्का १७ औं स्थानबाट २४ औं स्थानमा, गोपालमान श्रेष्ठ १८ औं स्थानबाट २० औं स्थानमा धकेलिएका छन् । बलबहादुर केसीले भने आफ्नो लोकप्रियतालाई आमूल सुधार गरी १९ औं स्थानबाट  १२ स्थानमा आफूलाई उकालेका छन् । २० औं स्थानमा रहेका पूर्णबहादुर खड्काले समेत आफूलाई १० स्थान माथि उकाल्दै यसपटक १० औं स्थानमा परेका छन् । शंकर भण्डारीले समेत आफूलाई सामान्य सुधार गरी २१ औं स्थानबाट १७ औं स्थानमा उक्लिएका छन् भने २२ स्थानमा रहेका केबी गुरुंगले आफ्नो लोकप्रियता ह्वात्तै बढाई २२ औं स्थानबाट ४ औ स्थानमा आइपुगेका छन् । २४ औं स्थानमा रहेका ज्ञानेन्द्रबहादुर कार्कीले समेत आफ्नो लोकप्रियतालाई सामान्य सुधार गरी २१ औं स्थान सुरक्षित गरेका छन् । 

दुवै चुनावको मतपरिणाम र केन्द्रीय सदस्यले कायम गरेको स्थानको आधारमा मिनेन्द्र रिजालले सबैभन्दा धेरै क्षति व्यहोर्नु परेको छ । उनी अघिल्लो नतिजाको तुलनामा १२ स्थान पछि धकेलिनुपर्यो । यसैगरी, सुजाता र प्रकाशरण महतले समेत ९ स्थान पछि धकेलिनुपरेको छ । एनपी साउदले ८ औ स्थान पछि धकेलिंदा उत्कृष्ट अर्थमन्त्रीको पुरस्कार पाएका डा. रामशरण महतको लोकप्रियता समेत घटी ६ स्थान पछाडि धकेलिनु परेको छ । चन्द्र भण्डारी ६ र नारायण खड्का समेत ७ स्थान पछि धकेलिनु परेको छ । 

केबी गुरुंगले आफ्नो लोकप्रियतामा अपत्यारिलो सुधार गरेका छन् । उनले १८ औं स्थान माथि आफूलाई उकालेका छन् भने शेखरले १० औ  स्थान माथि र पूर्णबहादुर खड्काले पनि १० औं स्थान माथि आफूलाई उकालेका छन् । बलबहादुर केसीले ८ औ र शंकर भण्डारी ४ औं स्थान आफूलाई उकालेका छन् । 

अघिल्लो महाधिवेशनमा २३ औं स्थानमा रहेका मनमोहन भट्टराईले यसपटक पराजय व्यहोरेका छन् । 

१२ औं महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याउने गगन थापा र दोश्रो धेरै मत ल्याउने अर्जुन नरसिंह केसी महामन्त्रीमा पराजित भएका छन् । अघिल्लो पटक चौथो धेरै मत ल्याएर खुल्लातर्फ केन्द्रीय सदस्य जित्ने डा. शशांक कोइरालाले भने महामन्त्रीमा शानदार जित हासिल गरेका छन् । ७ औं बढी मत ल्याएर केन्द्रीय सदस्य जितेका रामचन्द्र पौडेलले सभापतिमा चुनाव हारेका छन् भने १५ औं स्थानमा १२ औं महाधिवेशनमा केन्द्रीय सदस्य जितेका कृष्ण सिटौलाले समेत सभापतिमै चुनाव हारेका छन् । अघिल्लो पटक सबैभन्दा कम मत अर्थात, १०२० मत ल्याएर २५ औं स्थानमा केन्द्रीय सदस्य जितेका दीपकुमार उपाध्याय हाल भारतका लागि नेपाली राजदूतको रुपमा कार्यरत छन् । 

यो पटक २५ जना खुल्ला सदस्यमा रमेश लेखक र विश्वप्रकाश शर्मा दुई जना विल्कुल नयाँ अनुहार आएका छन् । केन्द्रीय सदस्यमा प्रदिप पौडेल पनि नयाँ अनुहारका रुपमा देखिएका छन् । उनी यसअघि पराजित भए पनि सुशील कोइरालाले आफ्नो कार्यकालको अन्तिमतिर मनोनीत गरेका थिए । खुल्ला सदस्यमा निर्वाचित भएका बद्री पाण्डे यसअघि सेती अञ्चलबाट निर्वाचित भएका थिए ।