काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ८४ करोड १३ लाख खूद नाफा आर्जन गरेको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म बैंकले १ अर्ब २३ करोड नाफा आर्जन गरेको थियो । नियामकीय व्यवस्थाबापत प्रभिजनमा ठूलो नाफा रकम छुट्याउनुपर्दा र यही बेला निस्क्रिय कर्जा समेत बढेका कारण बैंकको खूद नाफा प्रभावित भएको देखिन्छ । 

बैंकले समीक्षा अवधिमा सञ्चालन मुनाफाको रुपमा १ अर्ब १९ करोड आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ६९ करोडको उचाईमा थियो । 

बैंकले कोर विजिनेश भने बढाएको देखिन्छ । अघिल्लो वर्षको यही अवधिसम्म २ अर्ब ३९ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष २ अर्ब ८४ करोडको उचाईमा पुगेको छ । 

बैंकले अघिल्लो वर्षको यही अवधिसम्म इम्पेयरमेन्ट चार्जेजमा ७ करोड २३ लाख मात्र सार्नु परेकोमा यो वर्ष ६१ करोड ९२ लाख सार्नुपरेको छ । यसले समेत खूद नाफा हिट भएको देखिन्छ । 

प्रफिटबाट नियामकीय रिजर्भमा ४६ करोड बढी सार्नुपर्दाको असर समेत नाफामा परेको छ । 

यी सबै कारणले अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म १७.४५ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) घटेर यो वर्ष ११.८५ रुपैयाँमा सीमित बन्न पुगेको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म १.८७ प्रतिशतमा सीमित निस्क्रिय कर्जाको अनुपात बढेर यो वर्ष २.९९ प्रतिशत पुगेको छ । यसले समेत नाफा तथा अन्य सूचकमा हिट भएको देखिन्छ । 

समीक्षा अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा १० करोड ७१ लाख मात्रै छ । 

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ५९ करोड बढी निक्षेप संकलन गरी १ खर्ब ३८ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १ खर्ब ५२ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ३१ अर्ब बढी कर्जा परिचालन गरेको थियो । 

समीक्षा अवधिमा बैंकको मूल्य-आम्दानी अनुपात १७.३८ गुणा, प्रतिसेयर नेटवर्थ १४०.५२ रुपैयाँ, तरलता अनुपात २२.०४ प्रतिशत कायम भएको छ ।