काठमाण्डौ । कोरोनाविरुद्धको खोप उपलब्ध नगराए इन्धन बिक्रीवितरण रोक्ने पेट्रोलियम व्यवसायीले चेतावनी दिएका छन्। 

पेट्रोल पम्प सञ्चालकहरुको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई खोप छिटो उपलब्ध गराउन माग गर्दै यस्तो चेतावनी दिएको हो। 

सहज रुपमा खोपको उपलब्धताका लागि नेपाल आयल निगम र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गर्दै एसोसिएसनले अन्यथा वितरण प्रणालीमा असहजता उत्पन्न हुने चेतावनी पनि दिएको छ। ‘पेट्रोलियम पदार्थको नियमित वितरण प्रणालीमा असहजता उत्पन्न हुन नदिन शीघ्र खोपको व्यवस्था मिलाइदिन आग्रह गर्दैछौँ’, विज्ञप्तिमा भनिएको छ। 

यसअघि खोपको माग गर्दै बाग्मती प्रदेशमा आइतबारबाट इन्धनको ढुवानी रोकेका ट्यांकर चालकको आन्दोलनमा एसोसिएसनले ऐक्यबद्धता जनाएको छ। यस क्षेत्रमा कार्यरत कर्मचारी र श्रमिकको जीवनरक्षाका लागि सांकेतिक रुपमा ट्यांकर चालकले गरेको आन्दोलनमा एसोसिएसनले नैतिक समर्थन रहेको विज्ञप्तिमा उल्लेख छ।