काठमाण्डौ । गणपति माइक्रोफाइनान्सको सेयर दोश्रो बजारमा आइतबारदेखि कारोबारमा आउने भएको छ । 

सो कम्पनीका लागि नेप्सेले स्पेशल प्रि ओपनमा कारोबार हुने गरी ओपनिङ रेञ्ज समेत तोकिदिएको छ । 

नेप्सेका अनुसार स्पेशल प्रि ओपनका लागि ७८.९० रुपैयाँदेखि २३६.७२ रुपैयाँको रेञ्ज तोकिएको छ । 

आइतबार बिहान १०ः३० देखि १०ः४५ सम्मको प्रि ओपन सेसनमा सो कम्पनीको सेयर कारोबार भएमा मात्र सो दिनको दोश्रो बजार कारोबार अवधिमा कारोबार हुनेछ । 

नेप्सेका अनुसार गणपतिको संस्थापकतर्फ ७ लाख र सर्वसाधारणतर्फको ३ लाख ३५ हजार गरी कुल १० लाख ३५ हजार कित्ता सेयर कारोबारका लागि सूचिकृत भएको हो । 

गणपति माइक्रोफाइनान्सले सर्वसाधारणका लागि बैशाख ९ देखि १२ गतेसम्म ३ लाख ३५ हजार कित्ता प्राथमिक सेयर निश्कासन गरेको थियो । 

आइपीओमा ३ लाख २२ हजार ६०९ जनाले आवेदन दिएका थिए । योमध्ये ७०० आवेदन रद्ध भएको थियो । कम्पनीमा ६५ लाख ५५ हजार ११० कित्ता खरीदका लागि आवेदन परेको थियो । 

यो कम्पनीले निश्कासन गरेको ३ लाख ३५ हजार कित्ता आइपीओमध्ये कम्पनीका कर्मचारी र म्युचुअल फण्डहरुलाई सुरक्षित गरी सर्वसाधारणका लागि ३ लाख १३ हजार ८० कित्ता सेयर बाँकी रहेको थियो । 

गणपति माइक्रोफाइनान्सको आइपीओ ३१ हजार ३०८ जनाले १० कित्ताको दरले पाएका थिए । 

आइपीओको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको थियो । 

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडको अधिकृतपूँजी रु.२० करोड, जारी पूँजी रु.१० करोड र चुक्तापूँजी रु.७ करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरेपश्चात संस्थाको चुक्तापूँजी रु.१० करोड माथि पुगेको छ । 

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ आषाढ १३ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । 

२०७३ साल कार्तिक ३० गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । 

तनहुँको दुलेगौढामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र पर्वत, कास्की, तनहुँ, चितवन, धादिङ, काभ्रे, सिन्धुली, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तुु र दाङ्गमा, गरी जम्मा २० वटा शाखा कार्यालय मार्फत् सेवा दिइरहेको छ ।