काठमाण्डौ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा खुद नाफा २ करोड ७७ लाख रुपैयाँले बढाउन सफल भएको छ । 

चौथो त्रैमास विवरणअनुसार संस्थाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०१९.२१ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो । संस्थाले समीक्षा अवधिमा ३ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा संस्थाले २७ लाख २२ हजार रुपैयाँमात्र खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ६ करोड ९ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो वर्षममा २ करोड ३६ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाले व्यवसाय विस्तारमा पनि आक्रामक गति लिएको देखाउँछ । 

संस्थाको सञ्चालन मुनाफा ३ करोड ७३ रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा २८ लाख ३५ हजारमात्र रहेको थियो । 

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि ५३ लाख ५२ लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष ६० करोड ५७ करोड रुपैयाँ रहेको थियो । 

यस अवधिमा संस्थाले ५८ करोड ९९ लाख सापटी लिई ८७ करोड ७५ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा ४३ करोड २१ लाख रुपैयाँ सापटी लिई ५३ करोड ५१ लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी १० करोड ३५ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष पनि संस्थाको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको थियो । 

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा १६.१४ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष १ करोड ७१ लाख जगेडा कोष रहेको संस्थाको समीक्षा अवधिमा १ करोड ४७ लाख रुपैयाँ पुगेको छ । 

संस्थाको प्रतिसेयर आम्दानी २९.४५ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात १२.११ प्रतिशत, प्रतिसेयर नेटवर्थ रु ११६.५७ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य रु ९३२.९१ रहेको छ ।