काठमाण्डौ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ ।

संस्थाले लाभांश र आफ्नो तेस्रो वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि मंसिर १८ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ लाभांश भागिदार र साधारणसभामा सहभागी हुन आजसम्म सेयरधनी कायम हुनुपर्नेछ ।

संस्थाले पुस ४ गते आफ्नो वाषिृक साधारणसभाको मिति तय गरेको छ । 

सभामा यसअघि सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्ता पुँजी १० करोड ३५ लाख रुपैयाँको ७ प्रतिशतले हुन आउने ७२ लाख ४५ हजार मूल्यबराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश अर्थात ३ लाख ८१ ३१५.७९ रुपैयाँ गरी कुल ७६ लाख २६ हजार ३१५.७९ रुपैयाँ पारित हुनेछ ।

त्यस्तै सभामा विशेष प्रस्तावका रुपमा राखिने बोनस सेयरपछि हुन आउने चुक्तापुँजीको ११ करोड ७ लाख ४५ हजार रुपैयाँको ५० प्रतिशतले हुने अर्थात् २ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने अजेन्डा पनि पारित हुनेछ।