काठमाण्डौ । नेपाल कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कुुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित हुन नदिने भएको चेतावनी दिएको छ। 

एम अधिकारी प्रकरणमा मुुुछिएका गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने र कुनै पनि सार्वजनिक कार्यक्रममा सरिक हुन नदिने नेविसंघका अध्यक्ष दुुजाङ शेर्पाले चेतावनी दिएका हुन्। गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउन नेविसंघ र अखिल (क्रान्तिकारी) ले काठमाण्डौको भाटभेटनीमा प्रदर्शन गरेका थिए। उनीहरुले गभर्नर अधिकारीको राजीनामा मागेका थिए। 

प्रदर्शनपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेविसंघका अध्यक्ष शेर्पाले पार्टीका कार्यकर्ता बनेका गभर्नर अधिकारी तत्काल राजीनामा दिनुपर्ने बताए। ‘उनले राजीनामा नदिएसम्म हाम्रो आन्दोलन जारी रहनेछ’, शेर्पाले भने, ‘अब हामी गभर्नर अधिकारीलाई कुुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन दिने छैनौँ।’

शेर्पाले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको ऐनअनुसार गभर्नर अधिकारीलाई पदबाट बर्खास्त गर्नुपर्ने पनि माग गरे। ‘नेपालको अर्थतन्त्र ध्वस्त पार्ने काम भएको छ’, उनले भने, ‘नैतिकताका हिसाबले तत्काल अधिकारीले स्वयं राजीनामा दिनुपर्छ।’

गभर्नर अधिकारीले बालकोट गएर केपी शर्मा ओलीको कार्यकर्ता भएर सल्लाह गरी अर्थतन्त्र बिगारेको आरोपसमेत शेर्पाले लगाए। ‘अर्थतन्त्रका बारेमा अफवाह फैलाउने र राति–राति बालकोट पुगेर ओलीको सल्लाहमा अर्थतन्त्रलाई ध्वस्त पार्ने काम भएको छ।’