काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी आफैँमा अर्थतन्त्रको ठूलो हिस्सा बनेको बताएका छन्। 

मिडिया इन्टरनेसनलको आयोजना र राष्ट्र बैंकको प्रवर्द्धनमा सुरु भएको ‘फाइनान्सियल डिजिटलाइजेसन लिटरेसी’ को वेबिनारमार्फत उद्घाटन गर्दै गभर्नर अधिकारीले नेपालको अर्थतन्त्रमा डिजिटलाइजेसनको ठूलो महत्व रहेको बताए। ‘डिजिटलाइजेसनलाई कसरी अगाडि बढाउने भनेर नेपाल राष्ट्र बैंकले ठूलो सपना बोकेर हिँडेको छ’, उनले भने, ‘सोही सपनामा ‘फाइनान्सियल डिजिटलाइजेसन लिटेरेसी’ एउटा पाटो हुने अपेक्षा राखेको छु।’

बैंक तथा वित्तीय संस्थाले समयको मागअनुसारको सेवासुविधा दिनुपर्ने भन्दै गभर्नर अधिकारीले फाइनान्सियल सेक्टरमा डिजिटल सर्भिस बढाउनुपर्नेमा जोड दिए। ‘अहिले चिया पसलदेखि ई–रिक्सासम्म क्यूआर कोडको प्रयोग हुन थालेको छ’, उनले भने, ‘पसलका सामानहरु समेत डिजिटल्ली टिकटक र फेसबुकबाट देखाउने प्रचलन बढेको छ।’ 

वित्तीय साक्षरतालाई डिजिटल रुपमा लैजानुपर्ने भन्दै अधिकारीले यसका लागि मार्केटिङ गर्न जरुरी रहेको पनि बताए। फाइनान्सियल डिजिटलाइजेसन लिटरेसीलाई अगाडि बढाउन बैंक तथा वित्तीय संस्थाहरु एवं डिजिटल सर्भिस प्रोभाइडरहरुले हातेमालो गर्नुपर्ने उनले सुझाव दिए। 

गर्भनर अधिकारीले नेपाल सरकारले डिजिटल फेमवर्कलाई अगाडि ल्याएको भन्दै यसलाई साकार पार्न पनि यस अभियानले सहयोग पुर्याउने बताए। ‘फाइनान्सियल सेक्टर विद्युतीय कारोबार गर्ने क्रममा कोर बैंकिङ सेक्टरमार्फत अगाडि बढेको छ’, उनले भने, ‘नेपाल राष्ट्र बैंक डिजिटलाइजेसनका निम्ति दत्तचित्र भएर लागेको छ।’ 

गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक अहिले मौद्रिक नीतिको तयारीमा रहेको भन्दै सम्पूर्ण क्षेत्रलाई सुझाव उपलव्ध गराउन आग्रह गरे। 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गाउँगाउँको वित्तीय पहुँचमा ‘फाइनान्सियल डिजिटलाइजेसन लिटरेसी’ कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए। गाउँका कतिपय ठाउँमा वित्तीय पहुँच नपुगेको भन्दै उनले यसको धेरै नै महत्व हुने बताए। 

फाइनान्सियल डिजिटलाइजेसन लिटरेसी कार्यक्रमका कोडिनेटर माधव निर्दाेषले फाइनान्सियल डिजिटलाइजेसन लिटरेसीलाई सबै जिल्ला र स्थानीय तहमा सञ्चालन गरिने बताए। उनले डिजिटल कारोबार विना अबको अर्थतन्त्र सम्भव नहुने भएरै यो अभियान सुरु गरिएको स्पष्ट पारे।