काठमाण्डौ। नेपाल राष्ट्र बैंकले सार्क फाइनान्स ई–न्युजलेटर  (Vol-2, 2022) प्रकाशन गरेको छ। 

आज आयोजित एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले ई–न्युजलेटरको विमोचन गरेका छन्। 

सार्क फाइनान्सको अध्यक्षको हैसियतमा बैंकले उक्त ई–न्युजलेटरको प्रकाशन गरेको हो। उक्त प्रकाशनमा गभर्नर अधिकारीको सम्बोधनसँगै ४१ औं र ४२ औं ‘सार्क फाइनान्स गभर्नर ग्रुप मिटिङ’ ले अगाडि सारेका नीतिगत प्रयास र त्यसको कार्यान्वयन अवस्थालाई उल्लेख गरिएको छ।

यसैगरी ई–न्युजलेटरमा सार्क फाइनान्सको साङ्गठनिक कार्यदिशा तथा सार्क फाइनान्स तथ्यांकीय पद्धति, प्राविधिक सहायता, तालिम कार्यक्रम, वित्तीय समावेशीकरण, अध्ययन÷अनुसन्धान लगायतका पारस्परिक सहायताका क्षेत्र र सार्क पेमेन्ट काउन्सिलको प्रगति प्रतिवेदनलाई समेटिएको छ। 

यसका साथै, सार्क क्षेत्रमा कोभिड–१९ ले पारेको असर र यसलाई सम्बोधन गर्न अवलम्बन गरिएका नीतिगत प्रयास, सार्क सदस्य राष्ट्रका समष्टिगत आर्थिक निगरानी सूचक र आँकडासँगै समसामयिक आर्थिक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित आलेखलाई समेत ई–न्युजलेटरमा समेटिएको छ।

कार्यक्रममा गभर्नर अधिकारीले विमोचित ई–न्युजलेटरले सार्क राष्ट्रका आर्थिक तथा वित्तीय क्षेत्रको अवस्था, नीतिगत अभ्यास र पारस्परिक साझा विषयलाई समेटेको उल्लेख गर्दै यो प्रकाशन सार्क क्षेत्रको निम्ति उपयोगी सन्दर्भ सामग्री रहने चर्चा गरे। 

गत कात्तिक २९ मा सम्पन्न 42nd SAARCFINANCE Governors’ Group Meeting ले २०२२ अक्टोबरसम्मको निम्ति नेपाल राष्ट्र बैंकलाई ‘सार्क फाइनान्स’ को अध्यक्ष चयन गरेको थियो। विगतमा अर्धवार्षिक रुपमा सार्क फाइनान्स ई–न्युजलेटर प्रकाशन हुँदै आएकोमा गत वर्षदेखि वार्षिक रुपमा प्रकाशन गर्न थालिएको हो।

‘सार्क फाइनान्स’ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आबद्ध मुलुकका केन्द्रीय बैंकहरुको सञ्जाल हो। सार्क राष्ट्रहरुबीच समष्टिगत आर्थिक नीतिको विषयमा खुला छलफल र पारस्परिक सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ सन् १९९८ मासार्क फाइनान्सको स्थापना भएको थियो। सन् २००२ जनवरीमा काठमाण्डौमा सम्पन्न एघारौँ सार्क शिखर सम्मेलनले सार्क फाइनान्सलाई औपचारिक मान्यता दिएको थियो।