काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज सोमबार गरिमा विकास बैंकसहित तीन कम्पनीका सेयरमूल्य समायोजन गरेको छ।

गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य समायोजन भएको छ। समायोजनपछि प्रतिकित्ता गरिमाको ३२४ रुपैयाँ, सेन्ट्रल फाइनान्सको २१७ रुपैयाँ र एनआरएनको ३६९ रुपैयाँ कायम भएको छ। 

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता गरिमाको ३६८ रुपैयाँ, सेन्ट्रल फाइनान्सको २३२ रुपैयाँ र एनआरएनको ३८० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार तीनै कम्पनीको सेयर कारोबारमा आउनेछ। 

गत आर्थिक वर्षको मुनाफाबाट गरिमाले १३.५ प्रतिशत, सेन्ट्रल फाइनान्सले ७ प्रतिशत र एनआरएनले २.८५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेका छन्। प्रस्तावित बोनस सेयर यी तीनै कम्पनीको बस्ने आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

यी तीनै कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि आज माघ १२ गतेदेखि बुक क्लोज गरेका छन्। अर्थात हिजो माघ ११ गतेसम्म कायम सेयरधनीहरुमात्र यी तीनै कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।