काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। 

काठमाण्डौको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न सभाले विभिन्न महत्वपूर्ण विषयहरुमा छलफल भएको थियो । सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०७८ आसार मसान्तमा कायम चुक्तापुँजी ११ करोड ८१ लाख रुपैयाँको १५.६५ प्रतिशतले हुन आउने रकम १ करोड ८४ लाख ८३ हजार ८९५.९३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्न स्वीकृति प्रदान गरेको छ। 

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व ५ जना सञ्चालकको निर्विरोध निर्वाचित गरेको छ। सञ्चालकमा चयन हुनेहरुमा दीपक पाण्डेय, रमाकान्त बराल, यादवकुमार श्रेष्ठ, माधवप्रसाद उपाध्याय र अनिल श्रेष्ठ छन्। सभालगत्तै बसेको सञ्चालक समितिको बैठकबाट दीपक पाण्डेय अध्यक्ष पदमा मनोनयन भएका छन्। 

सभाले कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तार गरी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिस्ट्रार एवं सामूहिक लगानी कोषको डिपोजिटरीका रुपमा समेत कार्य गर्नका लागि कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्यहरु थप तथा संशोधन गर्ने र सोबमोजिम आवश्यक व्यवस्था गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ। कम्पनीले वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा वैदेशिक साझेदारीमा जानेसम्बन्धी निर्णय गर्न तथा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ। 

सभाले आव २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ।