काठमाण्डौ । के ३०० वर्ष पुरानो संग्रहालयको संग्रहमा लुकेको छ संसारको भोकमरीलाई अन्त्य गर्ने रहस्य ? नेचुरल हिस्ट्री म्युजियमको अभिलेखालयमा रहेका गहुँ र यससँग सम्बन्धित विभिन्न जातका १२ हजार नमुना परीक्षण गर्ने वैज्ञानिकहरुले यो प्रश्नको जबाफ पाउने आशा बढाएको छ। 

कठोर प्रजातिको गहुँको आनुवंशिक रहस्य पत्ता लगाउन सम्भावित नमुनाहरुको जिन सिक्वेन्सिङ भइरहेको छ। जलवायु परिवर्तन, कीरा र रोगका कारण यो बालीमा दबाब बढ्दै गएको छ।

गहुँका पुराना प्रजातिहरु संग्रहालयको कार्डबोर्ड फाइलहरुमा राम्ररी व्यवस्थित छन्। प्रत्येक बालीका सुक्खा पातहरु, डाँठहरु र दानाहरु वा तीनवटै छन्। यी शताब्दियौँ पहिलेदेखि संरक्षित थिए।

लेबलिङ धेरै सावधानीपूर्वक गरिएको छ। धेरैजसो लेबलहरु तामाको प्लेटमा राम्ररी कुँदिएका छन्। ती कहाँबाट र कहिले संकलन गरियो भन्ने विस्तृतमा उल्लेख छ। यसमा सबै महत्त्वपूर्ण जानकारी छन्।

ल्यारिस्सा वेल्टन भन्छिन्, ‘यसको संग्रह १७०० ईस्वी पुरानो हो। यसमा क्याप्टेन कुकको अस्ट्रेलियाको पहिलो यात्राका क्रममा लिइएको नमुना पनि समावेश छ।’

वेल्टन त्यो टोलीको हिस्सा हुन्, जसले अभिलेखलाई अनलाइनमा हेर्न सकोस् भनेर डिजिटलाइजेसन गर्यो।

जेम्स कुकको नमुना गहुँको जंगली विविधता हो। यो धेरै पातलो र घाँसेको छ। आज उब्जाएको विविधताभन्दा धेरै फरक छ। तर, यो भिन्नता हो कि यो टोली उत्सुक छ। वेल्टन भन्छिन्, ‘हामीसँग यस्ता नमुनाहरु छन्, जुन सबै कृषि प्रविधिको आविष्कार अघिका छन्। त्यसैले तिनीहरुले हामीलाई बताउन सक्छन् कि कृत्रिम मल वा जंगलमा आफैँ नभएको बेला गहुँको यो प्रजाति कसरी बढ्यो।’

गहुँ किन यति महत्वपूर्ण ?

गहुँ संसारको सबैभन्दा महत्वपूर्ण बाली हो। यो रोटीदेखि पास्ता, बिहानको खाजादेखि केकसम्म धेरै परिकारहरुमा प्रयोग गरिन्छ र हाम्रो आहारको एक आवश्यक भाग हो।

युक्रेनमा ठूलो मात्रामा गहुँ उत्पादन गरिन्छ। त्यहाँ युद्ध सुरु भएदेखि नै गहुँको विश्वव्यापी आपूर्ति संकटमा परेको छ। तर, समस्या यतिमात्र सीमित छैन। जलवायु परिवर्तन र खराब मौसमले पनि यसमा असर गरिरहेको छ।

वैज्ञानिकहरुले विश्वव्यापी तापक्रममा एक डिग्री सेल्सियसको वृद्धिले सम्पूर्ण विश्वको गहुँको उत्पादन ६.४ प्रतिशतले घटाउन सक्ने अनुमान गरेका छन्। कीरा र रोगहरु पनि प्रमुख चिन्ताका रुपमा देखा परेका छन्। जसले अनुमानित उत्पादनलाई प्रत्येक वर्ष २० प्रतिशतसम्म घटाउन सक्छ।

गहुँको आधुनिक बाली संकटमा परेको छ। १९५० र १९६० को दशकमा भएको हरित क्रान्तिले किसानहरुलाई सबैभन्दा धेरै उत्पादन गर्न सक्ने प्रजातिहरु उत्पादन गर्न प्रोत्साहित गर्यो। तर, सबैभन्दा ठूलो बाली उत्पादन गर्ने खोजको अर्थ अन्य प्रजातिहरु किनारा लगाइन्छ। ती बालीहरु पनि जुन कठोर मौसममा फस्टाउन सक्ने क्षमता हुन्छ र यस कारणले गहुँको विविधता समाप्त हुँदैछ।

नेचुरल हिस्ट्री म्युजियमका आनुवंशिकविद् डा म्याथ्यु क्लार्क भन्छन्, ‘हामीले के गुमेका कुराहरु आधुनिक प्रजातिहरुमा पुनः परिचय गर्न सकिन्छ भनेर हेर्न चाहन्छौँ। यो धेरै महत्त्वपूर्ण छः संसारको जनसंख्या बढ्दै जाँदा हामीलाई २०५० सम्ममा ६० प्रतिशत उच्च उत्पादन हुने अनुमान गरी थप गहुँ चाहिन्छ।’

त्यसकारण वैज्ञानिकहरु अहिले उब्जाउन नसकिने ठाउँमा पनि उब्जाउने खालको प्रजातिको खोजीमा छन्। यससँगै बदलिँदो वातावरणमा पनि फल्न सक्ने खालका बालीहरुको खोजी भइरहेको छ। ‘उदाहरणका लागि हामी विकासशील देशहरुमा खाद्य आपूर्तिको बढ्दो माग पूरा गर्न धेरै तातो वा सुक्खा मौसममा बाँच्न सक्ने बालीका प्रजातिहरु खोजिरहेका छौँ’, डा क्लार्क भन्छन्।

यो परम्परागत बाली उब्जनी विधि, जिन सुधार वा जिन सम्पादनमार्फत गर्न सकिने डा क्लार्क बताउँछन्। जिन सम्पादन एउटा प्रविधि हो। जसमा जिन थप्न, हटाउन वा धेरै सटिक रुपमा परिवर्तन गर्न सकिन्छ।

नर्विचको जोन इनेस सेन्टरका वैज्ञानिकहरुले पनि गहुँको पुरानो नमुनाहरु खोजिरहेका छन्। उनको अभिलेख गरिएको वाटकिन्स ल्यान्ड्रेस संग्रह १०० वर्ष पुरानो हो। जसमा विश्वभरबाट ल्याइएको प्रजातिहरु छन्। तिनीहरुलाई ४ डिग्री सेल्सियसमा राखिएको छ। ता कि तिनीहरुको बीउमा उब्जनी क्षमता बनिरहोस्। यसको मतलब तिनीहरु अझै पनि रोप्न र हुर्काउन सकिन्छ।

डा. साइमन ग्रिफिथ्स भन्छन्, ‘हामी नयाँ र उपयोगी जीन भिन्नताहरु खोज्न चाहन्छौँ। जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता, प्रतिकूल परिस्थिति सहन सक्ने क्षमता, उच्च उत्पादन, कम मलको खपत गर्न सकिन्छ।’

जोन इनेसमा काम गर्ने टोलीले केही पुराना जातलाई आधुनिक प्रजातिका साथमा क्रस ब्रिडिङ गरिरहेको छ र उनीहरुले यसमा केही सफलता पाएका छन्। डा. ग्रिफिथ भन्छन्, ‘गहुँको एउटा विशेष रोग हो, जुन सम्पूर्ण विश्वको विशेष समस्या हो, जसलाई पहेँलो रस्ट भनिन्छ। यसलाई नियन्त्रण गर्न झन्झटिलो बन्दै गएको छ।’

डा. ग्रिफिथका अनुसार गहुँका यी पुराना जातमा यो रोगविरुद्ध विशेष प्रतिरोधात्मक क्षमता हुने भएकाले यस बालीलाई यो रोगबाट बचाउँछ।’

यससँगै वैज्ञानिकको टोली गहुँको थप पौष्टिक प्रजातिको खोजीमा पनि लागेको छ। डा. ग्रिफिथ भन्छन्, ‘गहुँमा अरु के छ र ? हामीलाई थाहा छ कि हामी गहुँमा फाइबर र खनिजहरु बढाउन सक्छौँ।’

‘गहुँमा यति धेरै विविधता छ कि यसलाई आधुनिक गहुँ उत्पादकहरुले पूर्ण रुपमा शोषण गरेका छैनन् र हामीलाई लाग्छ कि हामी उनीहरुका लागि यो गर्न सक्छौँ’, डा. ग्रिफिथले भने, ‘हामीले उत्पादन गर्ने गहुँमा परिवर्तन हुनुपर्छ। आशा छ कि हाम्रो विगतको खोजी गर्नु र हराएको प्रजातिहरु खोज्नु नै अगाडि बढ्ने उत्तम तरिका हो।’ –बीबीसीबाट भावानुवादित