एनाबेल लियाङ

-व्यापार संवाददाता, बीबीसी

अर्बपति बिल गेट्सले गाईवस्तु डकार्दा उत्सर्जन हुने मिथेन ग्यासलाई कम गर्ने योजना बनाएको जलवायुसँग सम्बन्धित एउटा अस्ट्रेलियाली प्रविधि स्टार्ट-अप कम्पनीमा लगानी गरेका छन्।

माइक्रोसफ्टका सहसंस्थापक गेट्सले मासु उत्पादनको वातावरणीय प्रभावबारे स्पष्ट रूपमा बोल्दै आएका छन्।

मिथेन कार्बनडाइअक्साइडपछि सबैभन्दा धेरै उत्सर्जन हुने हरितगृह ग्यास हो।

गाई, बाख्रा र हरिण जस्ता जनावरको पेटले घाँसजस्ता कडा कुराहरू पचाउनका लागि मिथेन ग्यास उत्पादन गर्छ।

उनीहरूको पेटमा उत्पादन भएको त्यस्तो ग्यास डकारका माध्यमबाट बाहिर आउँछ।

विश्वविद्यालयहरूमा गरिएका अध्ययनहरूले गाईलाई सिवीड (समुद्री लेउ वा झार) खुवाउँदा उनीहरूले उत्सर्जन गर्ने मिथेनमा उल्लेखनीय कटौती हुने देखाएका छन्।

पर्थमा रहेको स्टार्ट-अप रुमिन-८ ले एकखाले पूरक आहार बनाउने काम गरिहरेको छ।
सिन्थेटिक रूपमा रातो सिवीडकै नक्कल गरिएको उक्त आहारले मिथेन ग्यास बनाउने कार्यलाई रोक्छ।

उसले एउटा वक्तव्यमा आफूले एक करोड २० लाख अमेरिकी डलर बराबरको रकम जम्मा गरेको जनाएको छ।

त्यसको नेतृत्व ब्रेकथ्रु इनर्जी भेन्चर्सले गरेको छ। त्यसको स्थापनमा गेट्सले सन् २०१५ मा गरेका थिए।

उक्त लगानी गर्ने कम्पनीलाई एमेजनका प्रमुख कार्यकारी जेफ बेजोस र चिनियाँ उद्यमी तथा अलिबाबाका सह-संस्थापक ज्याक माको पनि समर्थन छ।

“हामी विश्वभरिका जलवायु प्रभाव कोषबाट प्राप्त गरेको सहयोगबाट धेरै नै खुसी छौँ,” रुमिन-८ का प्रबन्धन निर्देशक डेभिड मेसिनाले भने।

“गाईवस्तुबाट हुने मिथेन उत्सर्जनको समाधान खोज्ने चाहनाप्रति लगानी गर्ने वास्तविक चाहनाहरू छन् र रुमिन-८ का लागि भाग्यको कुरा उनीहरूले हाम्रो प्रविधिमा फाइदा देख्न सक्छन्।”

गाइवस्तुको डुक्राइमा पनि कर...
गत अक्टोबरमा न्यूजील्यान्डले जलवायु परिवर्तनलाई सम्बोधन गर्नका लागि पशुपालन गरिएका जनावरहरूले पिसाब र डकारबाट उत्पादन हुने हरितगृह ग्यासमा कर लगाउने प्रस्ताव गरेको थियो।

विश्वमै पहिलो पटक उक्त देशमा ल्याइएको त्यस्तो योजनाका कारण सन् २०२५ सम्ममा किसानहरूले कुनै न कुनै रूपमा कृषि उत्सर्जनको लागि भुक्तानी गर्नुपर्नेछ।

उक्त देशको कुल हरितगृह ग्यास उत्सर्जनमध्ये आधाजति कृषि क्षेत्रबाट आउने गर्छ र त्यसमध्ये मुख्यत: मिथेन रहेको छ।

सन् २०१९ मा वायुमण्डलमा मिथेन ग्यासको मात्रा सबैभन्दा उच्च तहमा पुगेको थियो। त्यो औद्योगिक युगभन्दा पहिलेको तुलनमा साढे दुई गुणा बराबर थियो।  

पृथ्वीमा तापमान बढाउने कुरा आउँदा मिथेन मुख्य तत्व हुनजाने वैज्ञानिकहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।

एक-एक अणुको कुरा गर्ने हो भने मिथेनका अणुहरू कार्बनडाइअक्साइडका अणुभन्दा बढी शक्तिशाली हुने गर्छन्।

एक सय वर्षमा मिथेन कार्बनडाइअक्साइडभन्दा २८ देखि ३४ गुणा तातो हुन्छ।
-BBC