काठमाण्डौ । निकै लामो समय ग्रामीण भेगमा दूरसंचार सेवा प्रदान गर्दै आएको स्मार्ट टेलिकमले शहरी क्षेत्रमा दमदार सेवासहित प्रवेश गरेको घोषणा गरेको छ । 

स्मार्टसेलको रुपमा समेत चिनिइने यो कम्पनीले हाल संचालनमा रहेका अग्रणी २ दूरसंचार प्रदाय कम्पनीहरुको फोरजीलाई समेत पछाडि पार्ने गरी तीव्र गतिको फोरजी सेवाको साथमा आइतबारदेखि(कात्तिक १२)देखि आक्रामक बिस्तारको पाइला अगाडि बढाउनेछ । 

शनिवार राजधानीको दरबारमार्गस्थित एक होटलमा पत्रकार सम्मेलन गरी स्मार्ट सेलका अधिकारीहरुले पहिलो चरणमा द्रूत गतिको फोरजी सेवा पोखरा र काठमाण्डौमा उपलब्ध हुने घोषणा गरेका हुन् । ‘डेटा स्पीड र प्रतिसेकेण्ड कलमा हामी अरुभन्दा बेटर रुपमा आउँदैछौ ।’ स्मार्ट टेलिकमका प्रमुख प्रशासकीय अधिकृत सजीनराज भण्डारीले भने–‘फोरजीको स्पीड हालसम्मकै तीव्र अर्थात प्रतिसेकेण्ड ७० मेगापिक्सेलसम्मको हुनेछ ।’ 

यसअघि ३५ जिल्लामा सेवा बिस्तार गरिसकेको स्मार्टसँग १५ लाख ग्राहक छन् । यूनिफाइड सेवा संचालनको स्वीकृति पाएपछि स्मार्टले शहरलाई समेत आफ्नो व्यापारको केन्द्र बनाउने रणनीतिका साथ काठमाण्डौ र पोखराबाट दमदार सुरुवात गर्न लागेको हो । 

आइतबारदेखि सुरु हुने तीव्र गतिको फोरजी सेवालाई केही समय परीक्षणमै राखिने कम्पनीका अधिकारीहरुले बताएका छन् । परीक्षणमा देखिएको कमीकमजोरीलाई सुधा गरेपछि करिब एक महिनापछि कम्पनीले आक्रामक बजार बिस्तारको नीतिका साथ उत्रिने रणनीति बनाएको छ । 

परीक्षणकालपछि स्मार्टको फोरजी सेवा नेपालगञ्ज, चितवन र वीरगञ्जमा समेत बिस्तार गर्ने कम्पनीको लक्ष्य छ । 

‘पाँच महिनाअघि फोरजीको इजाजत पाएको स्मार्ट टेलिकमले नेपाली उपभोक्तालाई फोरजीको वास्तविक अनुुभव गर्ने मौका दिनेछ ।’ विज्ञप्तिमा भनिएको छ–‘हामीले फोरजी संचालनका लागि १० मेगाहर्ज प्रयोग गर्नेछौ । जसले गर्दा नेपालमा अहिलेसम्मको तीव्र गतिको फोरजी सेवा प्राप्त हुनेछ ।’ 

सुरुवातमा विशेष अफर
फोरजी सेवाको सुरुवातको अवसरमा स्मार्टले विशेष अफरहरु सार्वजनिक गरेको छ । जसअनुसार स्मार्ट सेलबाट जुनसुकै नेटवर्कमा प्रति सेकेण्ड एक पैसामा कल गर्न सकिनेछ । यस्तै, एक महिनाका लागि भाइबर र ह्वाट्सअपमा निःशुल्क कल गर्ने सुविधा समेत दिएको छ । यस्तै, १ जीबी डाटा २३५ रुपैयाँमा ३० दिनसम्म प्राप्त गर्न सकिनेछ भने १४५ रुपैयाँमा ७५० एमबी डाटा १५ दिनसम्म प्रयोग गर्न सकिनेछ । यस्तै, ८५ रुपैयाँमा ५०० एमबी डाटा ७ दिनसम्म र १५ रुपैयाँमा ७५ एमबी डाटा एकदिनका लागि प्रयोग गर्न सकिनेछ । 

स्मार्टमा कसको लगानी ?
स्मार्टले सन् २०१३ मा युनिफाइड लाइसेन्स प्राप्त गरेको थियो भने यसले सन् २००८ देखि नै नेपालको ग्रामीण भेगमा आफ्नो सेवा सुरु गरिसकेको थियो । स्मार्ट नेपालको तेश्रो ठूलो दूरसंचार सेवा प्रदायक संस्था हो । 

पत्रकारहरुको जिज्ञासा मेट्दै स्मार्टका अधिकारीले सम्मेलनमा दिएका जानकारी अनुसार कम्पनीमा ८० प्रतिशत लगानी स्वामित्व कजाकिस्तानको ल्याण्डकास्टर्स ग्रुुपको रहेको छ । नेपालका सर्वेश जोशीको कम्पनीमा २० प्रतिशत सेयर स्वामित्व छ । जोशी कम्पनीका कार्यकारी अध्यक्ष पनि हुन् । यो कम्पनीको सेयर पूँजी ३ करोड रुपैयाँ रहेको छ ।