काठमाण्डौ । टेक्नोलोजी कम्पनी गुगलले अमेरिकालाई बेलायत र स्पेनसँग प्राविधिक रुपमा जोड्न समुद्रमुनि नयाँ नेटवर्क केबल बिछ्याउने घोषणा गरेको छ।

गुगलले केबलमा नयाँ प्रविधि जडान गर्ने जनाएको छ। जसलाई कम्पनीले अहिले यथावत रहेको पुरानो केबललाई अपग्रेड गर्ने महत्वपूर्ण कदमका रुपमा लिएको छ। 

कम्पनीले यो नयाँ प्रोजेक्ट सन् २०२२ भित्र पूरा हुने अनुमान लगाएको छ। गुगलको आँकडाअनुसार समुद्रमुनि बिछ्याइने डेटा केबल विश्व सञ्चार पूर्वाधारका लागि महत्वपूर्ण रहनुका साथै यसले विश्वको करिब ९८ प्रतिशत डेटा ओगटेको छ। 

गुगलले बिछ्याउन लागेको नयाँ डेटा केबलको नाम ‘ग्रेस होप्पर’ राखिएको छ। ग्रेस होप्पर अमेरिकी कम्प्युटर वैज्ञानिक हुन्। 

गुगलको नयाँ केबल बेलायतको कर्नवालमा जोडिनेछ। व्यक्तिगत रुपमा स्वामित्व भएको यो गुगलको चौथो समुद्रमुनिको केबल हो।

कोरोना महामारीपश्चात विश्वभर इन्टरनेटको प्रयोगमा व्यापक वृद्धि भएको छ। जसका कारण तीव्रगतिको इन्टरनेटको माग पनि ह्वात्त्तै बढेको छ। यसका लागि टेक कम्पनीहरु बढीभन्दा बढी ग्राहकमाझ कसरी पुग्न सकिन्छ भन्दै निरन्तर रुपमा लागिरहेका छन्। – एजेन्सी