काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो दसौँ वार्षिक साधारणसभाको मिति तय गरेको छ। 

कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आगामी मंसिर ४ गते काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा आयाजना गर्ने निर्णय गरेको हो। 

सभाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीहरु वितरण गर्ने भनी निर्णय गरेको लाभांश पारित गर्नेछ। तर यसअघि कम्पनीले प्रस्ताव गरेका बोनस सेयर ५० प्रतिशतले घटेको छ। 

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट हाल कायम चुक्तापुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १०.५० प्रतिशतले हुन आउन ९ करोड ८५ लाख ४४ हजार ६०० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो। तर कम्पनीले चुक्तापुँजीको सतप्रतिशत अर्थात १ः१ हकप्रद सेयर जारी भई सो हकप्रद सेयर नेप्सेमा सूचीकरण भएपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ कायम हुने भएको छ। 

सोही कारणले अब सेयरधनीहरुलाई नयाँ कायम हुने चुक्तापुँजीको ५.२५ प्रतिशतले बोनस सेयर वितरण गर्ने र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। 

सभाले सञ्चालक समितिमा संस्थापकबाट ५ जना र सर्वसाधारण सेयरधनीहरुबाट १ जना गरी ६ जनालाई सञ्चालकमा निर्वाचित गर्नछ।

कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थका लागि कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ३ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।