काठमाण्डौ । सेयर बजारमा कमजोर वित्तीय अवस्था भएका कम्पनीमा पनि कुन हदसम्मको चलखेल हुन्छ र खराब कम्पनीमा पनि कसरी नक्कली आकर्षण पैदा गरिन्छ भन्ने कुरा पछिल्लो समय नेपालका लगानीकर्ताहरुले बुझ्दै जान थालेका छन् । यस्तै एउटा गतिलो उदाहरणको रुपमा ‘गोर्खाज फाइनान्स’लाई लिन सकिन्छ । 

गोर्खाज फाइनान्सका केही ठूला सेयरधनीकै योजनामा यो कम्पनीको मूल्य बिनाआधार रकेटको गतिमा दौडाइयो । बैंकिङ क्षेत्रकै ब्लुचिप मानिएको नवील बैंकलाई समेत दोश्रो बजार मूल्यमा यो कम्पनीको सेयरमूल्यले केही समयअघि उछिन्यो । खेलाडीहरुले नवीललाई समेत उछिनेपछि प्रतिकित्ता रु. २००० पुर्याउने भन्दै चलखेल गर्न बाँकी छाडेनन् । बजार बढेर ३२०० पुगेपछि जब घट्न थाल्यो, तब यो कम्पनीको सेयरमूल्य समेत निरन्तर घट्यो । 
पछिल्लो समय बजार बढ्दै २९०० माथि पुगेपछि फेरि गोर्खाज फाइनान्समा खेलाडीले चलखेल गर्न थालेका छन् । चलखेल गर्ने खेलाडी पुरानै छन्, तर तिनै खेलाडीको अफवाहको पछि लागेर विगत केही दिनको कारोबारमा सर्वसाधारण लगानीकर्ताले यो कम्पनीको सेयर महङ्गो मूल्यमा खरीद गरिरहेको देखिन्छ । 

अघिल्लो साताको बजारको अन्तिम कारोबार दिन अर्थात बिहीबार पनि यो फाइनान्स कम्पनीको मूल्य ४.२० प्रतिशतले बढाएर ८७० रुपैयाँको उचाईमा पुर्याइएको छ । यो कम्पनीको मूल्यमा फेरि खेल सुरु भएको प्रष्ट बुझ्न सकिन्छ । अघिल्लो साताभरि ‘गोर्खाज फाइनान्सले राम्रो वित्तीय विवरण प्रकाशन गर्दैछ’ भन्ने हौवा फैलाएर यसको मूल्य बढाइएको थियो । तर, यो कम्पनीले शनिवार प्रकाशित गरेको वित्तीय विवरणले हौवाको पछि लागेर लगानीकर्ता कसरी फस्छन भन्ने पुष्टि गरिदिएको छ । 

यो कम्पनीको दोश्रो त्रैमाससम्मको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) ४ रुपैयाँ ४६ पैसामा सीमित बन्न पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको इपीएस ३९ रुपैयाँ २५ पैसा थियो । अधिकांश सेयर लगानीकर्ताले कुनै कम्पनीमा लगानी गर्दा हेर्ने महत्वपूर्णमध्येको एक सूचक इपीएस हो । इपीएस यति कमजोर देखिएको कम्पनीको भाउ कसरी बढिरहेको छ, त्यो प्रष्ट देखिन्छ । 

यति मात्र होइन, कम्पनीको नाफामा निकै भीषण पहिरो गएको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ६ करोड ५८ लाख रुपैयाँ रहेको नाफा घटेर चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १ करोड ६५ लाखमा सीमित बन्न पुगेको छ । 

कम्पनीको संचालन मुनाफामा झनै ठूलो पहिरो गएको छ । अघिल्लो वर्षको यही अवधिसम्म २४ करोड ३३ लाख रहेको संचालन मुनाफा घटेर यो वर्ष ३ करोड १५ लाख रुपैयाँमा सीमित बन्न पुगेको छ । 

व्यवसाय विस्तारमा समेत कम्पनी असफल बन्दा अघिल्लो वर्षको यही अवधिमा १३ करोड ७३ लाख रहेको खूद ब्याज आम्दानी घटेर यो वर्ष ६ करोड १९ लाखमा सीमित बन्न पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको रिजर्बको आकार घटेको छ भने ‘रिटेन अर्निङ’ पनि नेगेटिभ भएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ७५ करोड ६४ लाख रहेको रिजर्बको आकार खुम्चिएर यो वर्ष ७० करोड ४८ लाखमा सीमित बन्न पुगेको छ । रिटेन अर्निङ १७ करोड १ लाखले नेगेटिभ छ । 

समीक्षा अवधिमा गोर्खाज फाइनान्सको निक्षेप संकलन र कर्जा परिचालनको गति समेत सुस्ताएको देखिन्छ । यो अवधिमा कम्पनीले ७ अर्ब ३५ करोड निक्षेप संकलन गरी ५ अर्ब ६५ करोड बढी कर्जा परिचालन गरेको छ । जबकि अघिल्लो वर्षको यही अवधिमा यो फाइनान्स कम्पनीले ८ अर्ब १५ करोड बढी निक्षेप संकलन गरी ५ अर्ब ३४ करोड बढी कर्जा परिचालन गरेको थियो । 

कम्पनीको व्यवस्थापनको काम कार्यबाहीमा संचालकहरुले हस्तक्षेप गरी मनपरी गर्दा गोर्खाज फाइनान्स डूब्ने अवस्थामा पुगेको छ । यसैको फलस्वरुप यो कम्पनीमा खराब कर्जाको थुप्रो लागेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ४.४२ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा बढेर समीक्षा अवधिसम्म ८.१७ प्रतिशतको भयावह अवस्थामा पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको सीडी रेसियो ८८.९४ प्रतिशत, बेस रेट १०.७७ प्रतिशत, मूल्य आम्दानी अनुपात १९६.८७ गुणा, प्रतिसेयर नेटवर्थ १६४.१७ रुपैयाँ कायम भएको छ । 

सीइओको राजीनामा
यसैबीच, गोर्खाज फाइनान्सको अत्यन्त खराब वित्तीय विवरण सार्वजनिक हुनुभन्दा केही दिनअघि सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङले राजीनामा दिएका खुलेको छ ।  

उनले आफू निकटस्थहरुसँग गोर्खाज फाइनान्सको सेयरमा चलखेल गर्दै आएका ठूला सेयरधनी दीपेन्द्र अग्रवालले काम गर्न नदिएका कारण आफूले राजीनामा दिएको दाबी गर्ने गरेका छन् । राजीनामाको विषय भने आधिकारिक रुपमा अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

स्मरणरहोस्, अग्रवाल तिनै व्यक्ति हुन्, जसले गोर्खाज फाइनान्सको सेयरलाई प्रतिकित्ता २००० रुपैयाँ पुर्याउने भन्दै बजारमा खुलेआम चलखेल गर्दै आएका छन् । उनी नेपाली सेयर बजारमा बेला बेला विवादमा आइरहने पात्र समेत हुन् ।