काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले गोर्खाज फाइनान्सको वार्षिक साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ। 

गोर्खाज फाइनान्सको सञ्चालक समितिले यही भदौ २३ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। तर कोरोना संक्रमण जोखिम न्यूनकरण तथा रोकथामका लागि जारी निषेधाज्ञा लागू नै रहेको अवस्थामा साधारणसभा रोकीपाउँ भन्दै संस्थाका ७१ जना सेयरधनीले काठमाण्डौ प्रशासनमा उजुरी दर्ता गरेका थिए। सोही उजुरीका आधारमा प्रशासनले साधारणसभा रोक्न गोर्खाज फाइनान्सलाई पत्राचार गरेको हो।

जारी निषेधाज्ञामा २५ जनाभन्दा बढी सहभागी भएर कुनै पनि सभा, सम्मेलन तथा समारोहजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ। त्यसैले अर्को निर्देशन नहुँदासम्म साधारणसभा स्थगित गर्न फाइनान्सलाई प्रशासनले निर्देशन दिएको छ।