काठमाण्डौ । गोर्खा ब्रुअरीले देशभरका तीन सय बार स्टाफलाई बियर उत्पादन, वियर भण्डारण तथा गुणस्तरीय सर्भिङको तालिम दिएको छ । 

कम्पनीले उपभोक्तालाई गुणस्तरीय बियर स्वाद अनुभव गराउनका लागि बियर सर्भ गर्नेहरुको क्षमता अभिवृद्धि गरेको हो ।

कम्पनीले सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टसँगको सहकार्यमा तालिम दिन थालेको हो । तालीममा सहभागीलाई बियर उत्पादनदेखि भण्डारण र सर्भिङसम्मको बारेमा सम्पूर्ण जानकारी गराइएको थियो । 

तालीममा सहभागीले बियर बन्नका लागि आवश्यक सामाग्री, उत्पादन प्रक्रिया, प्रकार आदिबारे पनि सिके । साथै बियर भण्डारण गर्नुपर्ने उचित तरिका, ग्लास सफा गर्ने तरिकाबारे पनि सिकाइएको थियो । सो तालीम कार्यक्रमको नाम ‘एक्सबियरियन्स’ (EXBEERIENCE) रहेकोे छ । जसमा सहभागीले काल्सबर्ग बियर एकेडेमिको अन्तराष्ट्रिय पाठ्यक्रमअनुसार बियरबारे ज्ञान पाउँछन् । तालीममा एक सातामा २० बार स्टाफहरु सहभागी हुने गरेका छन् ।

सोही तालिम कार्यक्रमको एड्भान्स कोर्सको रुपमा कम्पनीले काल्र्सबर्ग बियर एकेडेमीकी प्रशिक्षक सिग्रिड स्ट्रेटवर्नलाई नेपाल ल्याएको थियो । उनले दिएको सो तालीम कार्यक्रम ‘बियर इन्थुसियास्ट ट्रेनिङ’ BEER ENTHUSIAST TRAINING’ हो । 

कम्पनीले यस किसिमको कार्यक्रमका माध्यमबाट बार स्टाफको दक्षता विकास तथा सुधार गर्ने लक्ष्य लिएको छ । यसका कारण उनीहरुले सर्भ गर्ने तरिका अन्तरराष्ट्रिय स्तरको हुने कम्पनीको दाबी छ । गोर्खा ब्रुअरीले आगामी दिनमा सबै सहभागीलाई बियर र हस्पिटालिटिको अन्य विषयमा ज्ञान दिने योजना बनाएको छ ।

“नेपालको बार स्टाफको सीप विकास गरी वियर उपभोक्तालाई बियरको वास्तविकअनुभवलक्ष्यअनुसार यो कार्यक्रम सुरु गरिएको हो” गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर बैभव शर्माले जनाए । उनकाअनुसार गोर्खा ब्रुअरी जस्तो प्रिमियम गुणस्तरको बियर उत्पादन कम्पनीका लागि सही अनुभव एकदमै अपरिहार्य छ । उनले यो कार्यक्रमबाट राम्रो प्रतिक्रिया मिलेकोले यसलाई अझै ठूलो बनाउने हौसला मिलेको बताए ।

उनकाअनुसार कतिपय आउटलेटले आफ्नै आउटलेटमा आएर यस्तो ट्रेनिङ दिनआग्रह गरेका छन् । शर्माले भने, “एकपटकको तालीमभन्दा पनि हामी दिनदिनै उहाँहरुलाई ज्ञान र सीप सुधार्नेमा तत्पर छौं ।”गोर्खा ब्रुअरीले तालीम लिएका सबै स्टाफसँग् सम्पर्कमा रहेर नियमित रुपमा ज्ञानको स्तरलाई अपडेट गर्दै लाने योजना बनाएको छ ।

गोर्खा ब्रुअरीले आफ्नो योजनाअनुसार यस किसिमको तालीम देशैभर आयोजना गर्ने बताएको छ । यसलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित कम्पनीले सन् २०१९ को अन्त्यसम्म १ हजार जनालाई र अर्को वर्ष २ हजार बार स्टाफलाई तालिम दिइने बताएको छ ।