काठमाण्डौ । गोर्खा ब्रुअरीले आफूहरुद्वारा उत्पादित विभिन्न ब्रान्डका बियर गुणस्तरहीन भनी भ्रम फैलाउने काम भइरहेको भन्दै आपत्ति जनाएको छ।

सयौँ वर्षको इतिहास बोकेको ब्रान्डहरुमाथि व्यावसायिक प्रतिस्पर्धाभन्दा बाहिर गएर केही समूहले मिडियालाई प्रयोग गर्दै यस्तो भ्रम फैलाइरहेको गोर्खा ब्रुअरीका डेपुटी म्यानेजिङ डाइरेक्टर सुरेन्द्र सिलवालले बताए। 

‘विज्ञहरुले दिएका रेसिपीका आधारमा हरेक दिन गुणस्तर परीक्षण हुन्छ’, उनले भने, ‘फेरि सरकारले नै आधिकारिक रुपमा हाम्रा उत्पादनहरु गुणस्तरहीन भएको प्रमाणित गरेको होइन। यस्तो अवस्थामा उपभोक्तालाई दिग्भ्रमित बनाउने काम भइरहेको छ।’

आन्तरिक राजस्व विभागको इस्यू अर्कै भए पनि गोर्खा ब्रुअरीबाट उत्पादित बियरहरु गुणस्तरहीन भनिनु कुप्रचार गरिनु गलत रहेको सिलवालले बताए। 

‘दशकौँदेखि उत्पादित हुँदै आएका यी प्रडक्टहरु बन्द भएमा राज्यलाई नै ठूलो नोक्सानी हुने हो’, उनले भने, ‘तर गलत अफवाह फैलाएर उपभोक्तालाई निराश पार्ने काम हुनुहुँदैन।’

राज्यसँग अहिले गुणस्तरको भन्दा पनि अन्तःशुल्कका विषयमा छलफल भइरहेको पनि सिलवालले प्रस्ट पारे। ‘अहिलेको इस्यू भनेको गुणस्तर हुँदै होइन, यो त अन्तःशुल्कको हो’, उनले भने, ‘अन्तःशुल्कका विषयमा छलफल भइरहेको छ, सरकार यस विषयमा सकारात्मक नै छ।’

यसअघि विभिन्न सञ्चारमाध्यममा गोर्खा ब्रुअरीद्वारा उत्पादन काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर मापदण्डविपरीत रहेका भन्दै अफवाह फैलाएका थिए। त्यस्ता समाचारमा स्रोत आन्तरिक राजश्व विभाग उद्धृत गरिए पनि गुणस्तरको विषयमा बोल्ने निकाय त्यो होइन। फेरि विभागसँगको इस्यू नै गुणस्तरसँग सम्बन्धित नरहेको प्रष्ट भएसँगै कतिपय मिडियाहरुले विभिन्न स्वार्थ बोकेका समूहबाट परिचालित भई नियोजित प्रहार गर्ने काम मात्रै गरेका दाबी गरिएको छ। 

कम्पनीले मिडियाहरुबाट बिनाआधार लगाइएका सबै आरोप मिथ्या भएको प्रष्ट पारेको छ। कम्पनीले यी बियरको गुणस्तरमा कुनै किसिमको सम्झौता नगरिएको र दशकौंदेखि चलिआएकै मापदण्डलाई पालना गरिएको प्रष्ट पारेको छ। 

आन्तरिक राजस्व विभागले भन्सार विभागलाई ५० प्रतिशतभन्दा कम जौ प्रयोग गरी उत्पादन भएका बियरको वर्गीकरण गर्न पत्र पठाएको थियो। सोहीअनुसार भन्सार विभागले एकीकृत दरबन्दी वर्गीकरणको भाग २२ को व्यवस्थाअनुसार गोर्खा ब्रुअरीको बियरलाई ‘अन्य’मा वर्गीकरण गरेको बताइएको छ। यो न्यायोचित नभएको र यस विषयमा सरकारसँग सकारात्मक छलफल भइरहेको कम्पनीले जनाएको छ।