– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा जम्मा ३ दिन कारोबार भएको छ। यी ३ दिनमा बजार २ दिन घट्यो भने १ दिनमात्रै बढेको छ। 

अघिल्लो साता बजार २०७०.४१ को विन्दुमा बन्द भयो बजार यो साता २०२२.६४ मा बन्द भएको छ। यो हिसाबले यो साता सेयर बजारमा ४७.७७ अंकको गिरावट आएको छ। अघिल्लो साता पनि बजार ११२ अंकले घटेको थियो। 

यो साता सेयर बजारमा ६ अर्ब २ करोड रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो साता भने यस्तो कारोबार ८ अर्ब १४ करोड रुपैयाँबराबर भएको थियो। यस हिसाबले यो साता पनि कारोबार र सूचक दुवैमा गिरावट आएको छ। 

प्राविधिक पक्ष
मुभिङ एभरेजका आधार 

मुभिङ एभरेजका आधारमा यो साता बजारलाई हेर्दा मूल्य रेखाहरु गोल्डेल क्रसभन्दा तल झरेका छन्। यसले करिब एक साता अगाडि बनेको गोल्डेल क्रस विस्तारै इन्भ्यालिड बन्दै गरेको देखिन्छ। यदि मुभिङ एभरेजमा २०० दिनको रेखालाई ५० दिनको रेखाले तलबाट काट्छ भने त्यसलाई गोल्डेन क्रस बनेको बुझिन्छ। यो विन्दुभन्दा माथि–माथि चलेमा बजार मजबुत रहेको र सपोर्ट विन्दुमा चलेको बुझिन्छ। मुभिङ एभरेजका रेखाहरुभन्दा तल झरेमा बजार कमजोर बनेको बुझिन्छ तर डेथ क्रस भने भइसकेको अवस्था छैन। (हेर्नुहोस् माथि मुख्य तस्बिरमा)

बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा 

यो साताको बजारलाई साप्ताहिक रुपमा बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाहरु अझै पनि मध्य ब्यान्डभन्दा माथि नै चलेको देखिन्छ।

साप्ताहिक चार्टमै म्याक्डीमार्फत हेर्दा करिब ३ महिनापहिले बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। हिस्टोग्राम सकारात्मक नै छन् तर छोटा–छोटा हुँदै गएका छन्। 

साप्ताहिक चार्टमै आरएसआई भने ४६  को न्युट्रल जोनमा रहेको छ। 

बजारलाई दैनिक चार्टमार्फत हेर्दा मूल्यरेखाहरु बोलिंगरको तल्लो विन्दुमा ब्रेक डाउन दिएका छन्। (हेर्नुहोस् रातो एरो) 

म्याक्डीमार्फत हेर्दा एक महिनापहिले बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्। 

दैनिक चार्टमै आरएसआईमार्फत बजारलाई हेर्दा ३८ को तहमा पुगेको छ। यो भनेको ओभर सोल्ड जोन नजिक रहेको भन्ने हो।  विगतमा बजार ३० को तह आसपास पुगे पनि भने यूटर्न लिँदै गरेको देखिन्छ। 

इचिमोकुका आधारमा 

यो इन्डिकेटरबाट बजारको विगत, वर्तमान र आगामी ट्रेन्ड बुझ्न सजिलो बनाइदिएको छ। यसमा ४ वटा कम्पोनेन्ट हुन्छन्। बेस लाइन र कन्भर्जन लाइन भन्ने हुन्छ। यो भनेको सामान्य मुभिङ एभरेज हो। यो भनेको म्याक्डीजस्तै हो। 

अर्को भनेको क्लाउड पोजिसन हुन्छ। क्लाउडको पोजिसनले बजारको अवस्था बताउँछ। सामान्य रुपमा बुझ्दा यदि क्लाउडको अवस्था रातो भएमा बजार बियरिस र क्लाउडको अवस्था हरियो भए बजार बुलिस भन्ने हो।

यो साताको बजारलाई हेर्दा क्लाउडको पोजिसन हरियो नै छ। यसले बजार अझै बुलिस नै छ भन्ने हो। तर, मूल्यरेखाहरु बिस्तारै क्लाउड पोजिसनभन्दा तल झर्दै गरेकोले बजार कमजोर बन्दै गरेको बुझिन्छ। 

पिभट प्वइन्टका आधारमा 

पिभट विश्लेषण गर्ने सूत्रको मद्दतले सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। यसो भए अब यो सिद्धान्तका आधारमा नेपालको सेयर बजारको सम्भावित प्रतिरोध तथा सपोर्ट कति–कतिमा छ त ? हेरौँ–

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २१४५
  • प्रतिरोध २– २२२०
  • प्रतिरोध ३– २२६०

पिभट प्वइन्टः  २१०६

घटेमा सपोर्ट 

  • सपोर्ट १– २०२२
  • सपोर्ट २– १९९१
  • सपोर्ट ३– १९१६

निष्कर्ष

यो साता सेयर बजारमा लगभग ४८ अंकले गिरावट आएको छ। कारोबार पनि जम्मा ६ अर्ब रुपैयाँको हाराहारी भएको देखिन्छ। यस हिसाबले दैनिक एभरेज कारोबार २ अर्बमात्रै भएको देखिन्छ। 

बजारलाई विभिन्न इन्डिकेटरमार्फत हेर्दा बजारमा बिक्री दबाब परेको बुझिन्छ। दैनिक चार्टमा बोलिंगर, म्याक्डी तथा आरएआईमार्फत हेर्दा बजार करिब–करिब सपोर्ट विन्दुतर्फ आएको बुझ्न सकिन्छ। पिभट प्वइन्टको सपोर्ट भनेको पहिलो सपोर्ट २०२२ रहेको थियो। जसलाई बजारले भत्काएको छ। अबको दोस्रो सपोर्ट भनेको १९९१ मा र तेस्रो भनेको १९१६ मा रहेको देखिन्छ। यदि बजार बढेमा भने पिभट प्वइन्ट २१०६ तिर प्रतिरोध सामना गर्न सक्छ। 

बजारलाई इचिमोकु तथा मुभिङ एभरेजबाट हेर्दा भने बिक्री दबाब परेको देखिन्छ। सपोर्टका विन्दु नजिक–नजिक रहेकोले र आरएसआई तथा मनी फ्लो इन्डेक्स पनि ओभरसोल्ड जोन नजिक पुगेकोले आगामी साता कुनै पनि सपोर्ट विन्दुबाट बजारले यूटर्न लिएमा कुनै आश्चर्य हुने छैन। 

नोटः दोस्रो बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।