काठमाण्डौ । फ्रान्सेली कम्पनी टोटल इनर्जिज र भारतीय कम्पनी अडानी न्यु इन्डस्ट्रिज लिमिटेड(एएनआईएल)ले मिलेर विश्वको सबैभन्दा ठूलो ग्रीन हाइड्रोजन इकोसिस्टम बनाउने भएका छन्। 

यसका लागि फ्रान्सेली कम्पनीले एएनआईएलको २५ प्रतिशत स्वामित्व खरिद गर्ने भएको छ। टोटल इनर्जिज विश्वको सबैभन्दा ठूलो तेल तथा ग्यास उत्पादकमध्ये एक हो। टोटल इनर्जिजको पहिलेदेखि नै अडानी टोटल ग्यास लिमिटेडमा ३७.४ प्रतिशत स्वामित्व रहेको छ। 

गौतम अडानीको कम्पनी अडानी न्यु इन्डस्ट्रिजको लक्ष्य अबको १० वर्षभित्र ग्रीन हाइड्रोजन इकोसिस्टममा ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने रहेको छ। कम्पनीले सन् २०३० सम्म प्रत्येक वर्ष १० लाख टन ग्रीन हाइड्रोजन उत्पादन क्षमता विकास गर्नेछ। यो घोषणापछि अडानी इन्टरप्राइजेजको सेयरमूल्य करिब ३ प्रतिशतले वृद्धि भएको छ। 

अडानी गुप्र र टोटल इनर्जिजबीचको सम्झौतामा अब एलएनजी टर्मिनल, ग्यास युटिलिटी बिजनेस, रिन्युयबल बिजनेस र ग्रीन हाइड्रोजन उत्पादन समावेश भएको छ। 

ग्रीन हाइड्रोजन ऊर्जाको एउटा शुद्ध स्रोत हो। पानीबाट हाइड्रोजन र अक्सिजनलाई अलग गरेर हाइड्रोजनको उत्पादन गरिन्छ। यो प्रक्रियामा नवीकरणीय ऊर्जा प्रयोग गरिन्छ। त्यसैले यसबाट उत्पादन हुने हाइड्रोजनलाई ग्रीन हाइड्रोजन भन्ने गरिन्छ। – एजेन्सी