काठमाण्डौ । अडानी समूहका अध्यक्ष गौतम अडानी भारतका साथै एसियाका सबैभन्दा धनी व्यक्ति हुन्। केही वर्षपहिले उनको नाम संसारमा धेरैले नचिनेको भए पनि अहिले सारा संसारले उनलाई चिनेको छ। अब गौतम अडानीले नेटवर्थको हिसाबले नयाँ कीर्तिमान बनाएका छन्। 

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानी अहिले विश्वको तेस्रो धनी व्यक्ति बनेका छन्। विश्वका धनव्यक्तिको शीर्ष तीनमा पर्ने अडानी पहिलो एसियाली व्यवसायी हुन्।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अडानीले लुइस भिटनका सीईओ र अध्यक्ष बर्नार्ड अर्नाल्टलाई पछि पारेका छन्। इन्डेक्सका अनुसार हाल अडानीको कुल सम्पत्ति १३७.४ बिलियन डलर पुगेको छ। अडानी अब टेस्लाका सीईओ एलोन मस्क र अमेजनका संस्थापक जेफ बेजोसको मात्र पछि छन्। मस्कको कुल सम्पत्ति हाल २५१ अर्ब डलर छ। जब कि बेजोसको हाल १५३ अर्ब डलरको कुल सम्पत्ति छ।

हालैका दिनहरुमा अडानीको नेटवर्थ द्रुत गतिमा बढेको छ। विश्वभरका सेयर बजारमा गिरावट आइरहे पनि अडानीको सम्पत्ति निरन्तर बढेको छ। ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार पछिल्लो २४ घन्टामा बढेको धनी व्यक्तिको सूचीमा अडानी एकमात्र व्यक्ति हुन्। यस अवधिमा अडानीको कुल सम्पत्ति १.२ बिलियन डलरले बढेको छ। यो वर्ष अडानीका लागि निकै भाग्यशाली सावित भएको छ। अडानीको सम्पत्ति जनवरीदेखि ६०.९ बिलियन डलरले बढिसकेको छ।

गौतम अडानीले गत महिना माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सलाई उछिन्दै चौथो स्थानमा पुगेका थिए। गेट्सले गत महिना आफ्नो सम्पत्तिको ठूलो हिस्सा सामाजिक सेवाका लागि दान गरेका थिए। जसका कारण उनको सम्पत्ति निकै घट्यो। अर्कोतर्फ अडानीका कम्पनीहरुले लगातार राम्रो प्रदर्शन गरेका छन्। गेट्सको कुल सम्पत्ति ११७ बिलियन डलरमा झरेको छ।

यस वर्षको फेब्रुअरीमा अडानीले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै भारत र एसियाको सबैभन्दा धनी व्यक्ति बनेका थिए। अडानीको कुल सम्पत्ति यस वर्ष अप्रिलमा पहिलोपटक १०० अर्ब डलर नाघेको थियो। –एजेन्सी