काठमाण्डौ । गौतम अडानीमाथि परेको हिन्डनबर्गको प्रभाव कम हुँदै गएको छ। उनले गतिलो कमब्याक गरिरहेका छन्। 

पछिल्लो एक सातादेखि अडानी ग्रुपका कम्पनीहरुको सेयरभाउमा भएको मूल्यवृद्धिका कारण आफ्नो नेटवर्थमा भएको वृद्धिले अडानीले अर्बपतिको सूचीमा छलाङ मारेका छन्। हिन्डनबर्गको प्रतिवेदन सार्वजनिक भएपछि कम्पनीहरुको सेयरमूल्यमा आएको पहिरोले अडानी धनाढ्यको सूचीमा ३४औँ स्थानमा झरेका थिए। त्यहाँबाट केही दिनमै उनी २२औँ स्थानको उक्लिएका छन्। 

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानीको सम्पत्ति पछिल्लो २४ घन्टामा १.९७ अर्ब डलरले बढेको छ र योसँगै उनको कुल सम्पत्ति ५४ अर्ब डलर पुगेको छ । गत फेब्रुअरीको अन्त्यमा उनको सम्पत्ति ३७.७ अर्ब डलरमा झरेको थियो र उनी ३४ औँ स्थानमा झरेका थिए। 

गत जनवरी २४ मा अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गले अडानी समूहका बारेमा आफ्नो प्रतिवेदन सार्वजनिक गरेको थियो। प्रतिवेदन आएको भोलिपल्टै अडानीको साम्राज्यमा भूकम्प आयो र लगानीकर्ताको भावनामा परेको असरले दिनप्रतिदिन ठूलो घाटा व्यहोर्नुपरेको थियो । एक महिनाभित्र अडानी ग्रुपका कम्पनीहरुको सेयरभाउमा २५ प्रतिशतदेखि ८५ प्रतिशतसम्मको गिरावट आएको छ। बजार पूँजीकरण १२ लाख करोड रुपैयाँले १०० अर्ब डलरभन्दा तल आएको थियो। 

अडानीको नेटवर्थमा यो वृद्धि गत एक सातादेखि उनका कम्पनीका सेयरभाउहरुमा भएको वृद्धिका कारण देखिएको हो। जहाँ बुधबार अडानीको ५ वटा स्टकमा अपर सर्किट भएको थियो भने अरु सबै सेयर हरियो अंकमा बन्द भएका थिए। 

आज बिहीबारको कारोबारका क्रममा अडानी समूहको ३ वटा स्टकमा अपर सर्किट लागेको छ। –एजेन्सी