काठमाण्डौ । सरकारका विभागीय मन्त्री र नेपाल आयल निगमले खाना पकाउने ग्यासको अभाव हुने कुनै संभावना नै नरहेको भन्दै अतिरिक्त सिलिण्डर जोहो गर्नतर्फ नलाग्न आग्रह गरेका छन् । 

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यास अभाव नहुने भन्दै लाइन नबस्न सर्वसाधारणलाई आग्रह गरेका हुन् । 

उनले आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा फोन गर्ने बित्तिकै ग्यास पाउने व्यवस्थाका लागि हटलाइन टेलिफोनको व्यवस्था हुन लागेको समेत सुनाए । 

कोरोना भाइरसको त्रास देखाएर ग्यास सिलिण्डर अभाव हुने हल्ला फैलाइएको र त्यसको नाममा कालोबजारी हुनसक्नेतर्फ सचेत गराउँदै मन्त्री भट्टले ग्यास मात्र होइन, देशमा कुनै पनि उपभोग्य वस्तुको आपूर्तिमा कुनै गडबडी नरहेको र तत्काल हुने अवस्था समेत नरहेको प्रष्ट्याए । 

उता, नेपाल आयल निगमले ग्यास अभाव हुने हल्ला पिटाउँदै अतिरिक्त सिलिण्डरको जोहो गर्नलाई सर्वसाधारणको लम्बेतान लाइन लागेको समाचार सार्वजनिक भएपछि ग्यासको अभाव हुने अवस्था नरहेको प्रष्ट पारेको छ । 

इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई मार्च महिनामा ४५ हजार टन ग्यास दिने भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताएका छन् । ४५ हजार टन ग्यास नेपाल ल्याउने विषयमा व्यापारिक सम्झौता भइसकेको र यो परिमाणको ग्यास आएपछि नेपालमा अभाव नहुने उनको जिकिर छ । 

निगमका अनुसार फेब्रुअरीमा ४१ हजार टन ग्यास आयात भएको छ । गर्मी महिना समेत सुरु हुन लागेको र जाडोको तुलनामा यो अवधिमा ग्यासको कम खपत हुने हुँदा अभाव हुने कुनै संभावना नै नरहेको उनको दाबी छ । 

भारतबाट ग्यासको आपूर्ति सहज ढंगले भइरहेको र उपभोक्ताले त्रासमा परेर अतिरिक्त सिलिण्डर जोहो गर्न आवश्यक नरहेको उनको प्रष्टोक्ति छ । 

नुन, चिनी र चामलको पनि पर्याप्त मौज्दात 

मन्त्री भट्टले पेट्रोलियम पदार्थ, नुन, चिनी र चामललगायत खाद्यान्नको पर्याप्त मौज्दात रहेको स्पष्ट गर्दै ती सामग्रीको आपूर्तिमा कुनै किसिमको समस्या नरहेको समेत बताए । 

अत्यावश्यक औषधि तथा दैनिक उपभोगका अन्य सामग्रीको आपूर्ति प्रणालीमा कुनै किसिमको प्रभाव पर्न नदिन सरकार सचेत रहेको जनाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ती सामग्रीको अनावश्यक भण्डारण नगर्न र नआत्तिन सम्पूर्ण उपभोक्तामा आग्रह गरेको छ ।

कृत्रिम अभाव सिर्जना गर्ने, वस्तुहरूको मूल्यवृद्धि गर्ने तथा मुनाफा कमाउने ढङ्गले बजारलाई प्रभावित पार्नेहरूविरुद्ध सरकार कठोररूपमा लागेको र निरन्तर बजार अनुगमन हुने समेत पत्रकार सम्मेलनमा बताइयो । 

मन्त्रालयले आज एक प्रेस वक्तव्य निकालेर ‘मास्क र स्यानिटाइजर’ को खपत बढी मात्रामा भएको र तिनको मौज्दातसमेत राख्ने प्रवृत्ति बढेकाले त्यसो नगर्न सम्बद्ध सबै पक्षसँग अनुरोध समेत गरेको छ । मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात रहेको बताएको छ ।