काठमाण्डौ । पछिल्लो समय नेपालमा ग्यासको प्रयोग जोखिमपूर्ण बन्दै गएको छ। दैनिकजसो ग्यास सिलिन्डर विस्फोटका घटना खबरहरु आइरहेका छन्। 

यस्तो अवस्थामा ग्यासको प्रयोग गर्दा के–के कुरामा ध्यान दिनुपर्छ ? नेपाल कत्था उत्पादक संघका अध्यक्ष एवं नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरे ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरुका विषयमा जानकारी गराएका छन्। 

यस्ता छन् घिमिरेले ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु– 

  • सम्भव भएसम्म भान्सा कोठाको पर्दाहरु सुति कपडाको राख्ने। 
  • रेगुलेटर, पाइपहरुको गुणस्तर चिह्न (आईएस/एनएस) हेरेरमात्र प्रयोग गर्ने।
  • चुलो र सिलिन्डरको दूरी करिब २ मिटर राख्ने। ग्यास स्टोभ वा सिलिन्डर नजिकै व्याट्री इन्भटर राख्नु हुँदैन
  • सिलिन्डरभन्दा ग्यास स्टोभ उचाइमा राख्नुपर्दछ। 
  • सिलिन्डर सधैँ उठाएर राख्नुपर्दछ।
  • ग्यास बाल्नु अगाडि झ्याल–ढोका खुला राख्नु अनिवार्य हुन्छ।
  • ग्यास चुलो अटोमेटिक छैन भने बाल्ने वस्तु पहिला नै तयार राख्नुपर्दछ। 
  • खाना पकाउने ग्यास सिलिन्डर सम्भव भएसम्म भान्सा कोठामा लामो पाइपमार्फत बाहिर खुला स्थानमा राख्ने।
  • ग्यास सिलिन्डर रेगुलेटरमा जोड्नु पहिला भल्भमा लिक भएमा पानीबाट चेक गर्ने यदि लिक भएको भए पानीको फोका आएमा भल्भ लिक भएको मानी सेप्टी क्याप लगाउने र सिलिन्डरलाई खुला स्थानमा राखी ग्यास बिक्रेतालाई खबर गर्ने। 
  • भान्साकोठामा ग्यासको अस्वाभाविक गन्ध आएको छ भने सलाई, लाइटर, बिजुलीको स्विच, मोबाइल फोनको प्रयोग बिना झ्याल–ढोका खुला गर्नतर्फ लाग्ने वा फायर बिग्रेड र नजिकको ग्यास डिपोसँग समन्वय गर्ने।
  • सम्भव भएसम्म भान्साको काम गर्दा (एप्रोन) सुति कपडाको प्रयोग गर्ने।
  • समय–समयमा ग्यास चुलो रेगुलेटर पाइपहरु सफा गरी राख्ने र हरेक दुई वर्षमा बदल्ने।
  • खाना पकाइसकेपछि चुलोभन्दा पहिला रेगुलेटर बन्द गर्ने।

सिलिन्डरमा आगलागी सुरु भइसकेपछि १०–१५ मिनेट समय हुन्छ विस्फोट हुनुअघि त्यो समयमा नै निम्न उल्लेखित कार्य गर्न सकियो भने विस्फोटलाई रोक्न सकिन्छ। 

  • यदि पाइपमा आगो लाग्यो भने एउटा बोरा वा कपडा पानीमा भिजाएर सिलिन्डरलाई छोपिदिने अनि एकछिनपछि रेगुलेटर बन्द गरिदिने।
  • यदि रेगुलेटरमा आगो लागेको छ भने एउटा चोरा वा कपडा पानीमा भिजाएर सिलिन्डरलाई छोपिदिने। अनि एकछिनपछि रेगुलेटर नै झिकिदिने।
  • यदि सिलिन्डरमै लिकेज भएको छ र आगलागी भइरहेको छ भने सकिन्छ भने वा माथि उल्लेखित समय छ भने सिलिन्डरलाई बोकेर बाहिर लैजाने वा कोही नभएको स्थानमा लैजान कोसिस गर्ने। त्यो पनि गर्न सकिने अवस्था छैन भने आफूलागायत सबै परिवार सकैसम्म छिटो बाहिर निस्कने र दमकल र प्रहरीलाई खबर गर्ने।
  • सिलिन्डरको माथिको गोलो ह्यान्डललाई तलको भाँडोसँग जोड्ने ३ वटा सीधा पाता हुन्छ। त्यही पातामा यसको एक्सपायर मिति पन्च गरिएको हुन्छ। पातामा अंग्रेजी अक्षर ‘ए’ देखि ‘डी’ सम्मका कुनै अक्षरसँग २ वटा अंक लेखिएको हुन्छ। अक्षरले एक्सपायर हुने महिनालाई र अंकले एक्सपायर हुने वर्षलाई संकेत गर्दछ। 

- ‘ए’ लेखिएको छ भने जनवरीदेखि मार्च।

- ‘बी’ लेखिएको छ भने अप्रिलदेखि जुन।

- ‘सी’ लेखिएको छ भने जुलाईदेखि सेप्टेम्बर। 

- ‘डी’ लेखिएको छ भने अक्टोबरदेखि डिसेम्बर।